काठमाण्डौँ : शनिबार राति बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको गस्ती टोलीलाई तस्करको समूहले देख्ने बित्तिकै गोली चलाएका थिए । त्यसपछि प्रतिकारका क्रममा प्रहरीले पनि ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड गोली चलाएको थियो ।

निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागुऔषध गाँजा ओसारपसार खरिद बिक्री भइरहेकाे थियाे । प्रतिकारका क्रममा प्रहरीले पनि गोली चलाएपछि उनीहरू गाँजा छोडेर भागेका थिए। यस क्रममा गस्तीमा रहेको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट पाँचवटा सेतो बोराभित्र लुकाइछिपाइ राखेको १०२ किलो लागुऔषध गाँजा र एक थान भरुवा बन्दुक बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उक्त समूहका अन्यको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।