चितवन : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो ।

मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना सुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।


चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । पचासभन्दा बढी गणक सहभागी हुने बिडारीको बताइएको छ । छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गण्ना गरिन्छ ।

यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । ती चरा पानीमा आश्रित हुने गर्दछन् । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ ।