धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी आउने तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

पार्टी विभाजन र प्रतिनिधि सभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री ओली उपत्यकाबाहिर आउन लागेका हुन् । प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए । 

‘प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले भने । प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करिब एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । 

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ । दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय ‘हाई अलर्ट’ गरिएको छ ।