बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ । 

“सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका लागि सौराहास्थित वन्यजन्तु अस्पताल पठाउने तयारी गरिएको थियो ।

खोरमा पारिएको चितुवालाई जीपमा राखेर बागलुङ ल्याइएको हो । वन अधिकृत अधिकारीका अनुसार, उक्त चितुवा घाइते र बिरामी छ । झण्डै ४ वर्षभन्दा बढी उमेर भइसकेकाले यो चितुवा वयस्क भइसकेको थियो । यो चितुवा अर्को वयस्कसँग झगडा गरेर वा लडेर घाइते भएको जस्तो देखिएको हो । उनका अनुसार २५ महिना पार गरेपछि चितुवा प्रजननका लागि योग्य हुन्छ । त्यसैले उक्त चितुवाले प्रजनन साथी खोज्ने क्रममा गाउँ आइपुगेको, दुई चितुवाबीच झगडा भएको हुनसक्ने अनुमान छ । 

चितुवाले मानिसलाई आक्रमण नगरे पनि आइतबार बिहानैदेखि बस्तीमा घुमिरहेपछि नियन्त्रणको प्रयास भएको थियो ।