कर्णाली : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका छन् ।

मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै आफू उक्त समूहमा आवद्ध रहेको जानकारी गराएका हुन् । आईतबार नै उनले प्रचण्ड–नेपाल रोजेको दावी नेकपा कर्णाली प्रदेशको संसदीय दलले गरे पनि बुढा स्वयंले आधिकारिक जानकारी गराएका थिएनन्। आईतबार ओली समूहमा रहेका सामाजिक विकास मन्त्री दल रावल र सांसद् पदम रोकायाले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका थिए।

मन्त्री बुढाले विज्ञप्तीमार्फत ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रुपमा भूमिका निभाउन र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न भूमिका खेल्नुपर्ने परिवेशमा मैंले अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको नेतृत्वमा रहेको हाम्रो गौरवशाली नेकपामा नै रहेको जानकारी गराउन चाहन्छु,’ भनेका छन् ।

मन्त्री बुढाले पनि प्रचण्ड–नेपाल समूह रोजेसँगै कर्णाली प्रदेशको मन्त्रिमण्डलमा ओली समूहको प्रतिनिधित्व शून्य भएको छ। कर्णाली प्रदेशका ६ जना मन्त्री नै अब प्रचण्ड–नेपाल समूहका भएका छन् । प्रचण्ड–नेपाल समूह बलियो बनेसँगै कर्णालीमा ओली समूह अल्पमतमा परेको छ । प्रचण्ड–नेपाल समूहमा अब २२ जना सांसद् छन् भने ओली समूहमा सभामुखबाहेक १० जना सांसद् मात्र छन् ।