काठमाण्डौँ : विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ ।

प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् । विज्ञहरूका अनुसार जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो । हिउँदमा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।