काठमाण्डौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नदिएको बताएका छन् । 

संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’

संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । ‘लोकतन्त्रको लडाई लड्दा लड्दा चेतिसकेकाले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार राखेका छैनौं । आवश्यक पर्छ भने अदालतमा गएर बहस गर्न पनि तयार छौं’ उनले भने । पौडेलले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको बताए। उनले ओलीको कदमविरुद्ध कांग्रेसले वडासम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको बताए।