धनगढी : कैलालीको धनगढीमा हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यसवर्ष नहुने भएको छ ।
कोरोना कहरले महोत्सव रोकिएको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले मेला, महोत्सवमा रोक लगाएकाले यस वर्ष पूर्व निर्धारित मितिमा महोत्सव गर्न नसकेको जनाएको छ ।‘तत्काललाई हामीले महोत्सव आयोजना स्थगित गरेका छौं’, संघका अध्यक्ष पुष्पराज कुँवरले भने–‘सबैसंग छलफल गरेर कुनै उपयुक्त समयमा महोत्सव आयोजना गर्छौ ।’
स्थानीय प्रशासनले अनुमति दिएमा माघ, पुस महिनामा पनि महोत्सव सञ्चालनका लागि संघ तयार रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । ‘बरु यसका सुरक्षाका उपयुक्त मापदण्ड अपनाउन तयार छौं’, कुँवरले भने । उनले कोरोना कहरले शिथिल भएको व्यापार, व्यवसायलाई चलायमान बनाउनका लागि मेला, महोत्सव आयोजना र त्यसमार्फत व्यापार, व्यवसायको प्रवद्र्धन गर्न जरुरी भइसकको उल्लेख गरे ।
संघले २०६३ सालदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ । विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको सुदूपश्चिम महोत्सव यो प्रदेशको पर्व जस्तै भइसकेको संघका महासचिव ओम विष्टले बताए । ‘प्रदेशको पर्व जस्तै भइसकेको यो महोत्सवलाई देश विदेशमा रहेका मान्छेहरु कुरेर बसेका हुन्छन’, उनले भने । ‘सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गरेर मेला, महोत्सव गर्न नदिएकाले सुदूरपश्चिम महोत्सवलाई हामीले तत्कालका लागि स्थगित गरेका हौं ।’