कञ्चनपुर, मंसिर १२
कञ्चनपुरको महेन्द्रनगर बजारमा टेलिकमको तारले घाँटमा बेरेर हत्या गरिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका ४ भानु पार्टी प्यालेस छेउमा घाँटीमा टेलिकमको तार बेरिएको अवस्थामा अन्दाजि ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका ४ पूर्वपश्चिम राजमार्गस्थित भानु पार्टी प्यालेस नजिक घाँटीमा टेलिकमको तार बेरिएको अवस्थामा एकजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए । उनले शवको अहिलेसम्म पहिचान हुन नसकेको बताउदै प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

‘आज बिहान घाटीमा टेलिकमको जस्तो देखिने तार बेरिएका एजना पुरुषको शव फेला परेको छ,’ उनले भने ‘मृतकको अहिलेसम्म पचिान हुन सकेको छैन । उनले आफै आत्महत्या गरे वा हत्या गरिएको हो त्यसबारे हामीले अनुसन्धान गर्दैछौ ।’

नेपाल टेलिकमको पोलबाट तानिएको तार घाटीमा बेरिएको र नटुटेको अवस्थामा रहेकाले उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जनाएको छ ।