महेन्द्रनगर : कोभिड–१९ का कारण चैत देखि पर्यटकहरुका लागि बन्द रहेको निकुञ्ज कार्तिक १ देखि खुला गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्याएर जंगल सफारी गर्न सकिने जनाएको छ।
निकुञ्जले सूचना प्रकाशित गरेर सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सफारी गर्न सकिने जनाएको छ। सामाजिक दूरी कामय राख्दै मास्क र सेनेटाइजरको प्रयोग समेत गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। अहिले जंगल सफारी र वाक सफारी मात्रै खुला गरिएको उल्लेख छ। कोभिड–१९ को जोखिमका कारण हात्ती सफारी, फिसिङ, र्याप्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरुमा भने रोक लगाइएको छ।
दसैं तिहारका बेला घुमघामका लागि रमाइलो मौसम मानिन्छ। यतिबेला निकुञ्ज घुम्ने पर्यटक पनि धेरै हुन्छन्। यसैलाई मध्यनजर गरि निकुञ्ज प्रशासनले औपचारिक रुपमा पर्यटकका लागि खुला गरेको हो।