निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई सकस

महेन्द्रनगर,२७ असार
पछिल्लो समय कञ्चनपुरका केही घटना हेर्ने हो भने प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गर्न पाएको छैन ।
आफूअनुकूलको परिणाम नआउँदा दलबल र शक्तिको आडमा हुने आन्दोलन नारा जुलुसले विधिको शासन उल्लंघनसमेत गरेको छ भने प्रहरीलाई अनुसन्धानमा अवरोधसमेत गर्ने गरेको छ । जसका कारण प्रहरीलाई काम गर्न सकस छ ।
केही दिनअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले नियन्त्रणमा लियो । स्थानीय महिलामाथी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।
तर, भोलिपल्टै अर्को पक्षले उनको रिहाइका लागि दबाबस्वरुप जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयअगाडि नारा–जुलुस ग¥यो । जिल्ला अदालत अगाडी नारा जुलुस र महेन्द्रनगर बजारमा प्रदर्शन समेत गरे ।
अपराधी पत्ता नलागेरमात्रै होइन, कहिले–काँही पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दैपनि प्रहरीविरुद्ध नारा–जुलुस हुने गर्दछन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न दोषी अझै पत्ता लाग्न नसक्नु त्यसको एउटा ज्वलन्त उदाहरण हो ।
निर्मलाकान्डमात्रै होइन, पछिल्लो समय हुनेगरेका यस्ता प्रकृतिका घटनामा नारा–जुलुस, प्रदर्शन र तोडफोड नियति नै बनेको छ ।
समाजमा हुने क्रियाकलाप र अपराध अनुसन्धानमा प्रहरीलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाएर समाजले सहयोग गरे त्यसको परिणाम आउन समय नलाग्ने प्रहरीको भनाइ छ ।

अपराध अनुसन्धानमा समाजको सहयोगी भूमिका हुनुपर्दछ । तसर्थ, प्रहरीलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाउनु समाजको पनि दायित्व हो । आफ्नो असहमति दर्ज गराउनका लागि नारा–जुलस अचेल सामान्यजस्तै हुन थालेको छ ।
नियम–कानुनले स्पष्ट तोकेका अधिकार, कानुनसम्मतरुपमा किनारा लगाउन सकिने कतिपय विषयमा पनि नारा–जुलुसका साथ दबाब सिर्जना गर्नेक्रम बढ्दो छ । जसका कारण एकातिर विधिको शासन पालनामा चुनौती थपिँदै गएको छ भने अर्कातिर अनुसन्धान प्रक्रिया नै प्रभावित भइरहेको छ ।
नारा–जुलुसका लागि कुनै नीति–नियम छैन । कुनै खास घटनामा अपराधी पत्ता लागेन भनेर नारा–जुलुस हुन्छ भने कहिले निर्दोषलाई पक्राउ गरियो भनेर नारा–जुलुस हुन्छ । जसले अनुसन्धानको प्रक्रिया नै प्रभावित हुने र अपराधी पत्ता लगाउनसमेत ढिलाइ हुने गरेको पाइन्छ ।
कुौपनि घटनामा हुने नारा जुलुस र प्रदर्शनले अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्ने गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द मरासीनीले बताए । “अपराध समाजमा घट्छ अपराधी पनि त्यही समाजमै हुन्छ । ” उनले भने–“अपराध र अपराधी देख्ने समाजले नै जबसम्म समाजले अपराधको विरुद्धमा मुख खोल्दैन प्रहरी एक्लैले केही पनी गर्न सक्दैन ।”
अधिवक्ता पुनम चन्द घटनालाई प्रभावित गर्ने उद्देश्यले हुने नारा–जुलस र प्रदर्शन शक्तिको दुरुपयोग भएको बताउनुहुन्छ ।
कुनैपनि घटना बाहिर आइसकेपछि त्यसबारे प्रहरीलाई निष्पक्षरुपमा अनुसन्धान गर्न नदिएसम्म पीडितले न्याय नपाउने उहाँको भनाइ छ । “कुनैपनि घटना घटिसकेपछि प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्दछ अनुसन्धान पछि निर्णय गर्ने अदालत छदैछ ।” उनले भनिन –“आफ्नो स्वार्थको लागि पक्ष विपक्षमा बोल्ने प्रवृत्ति बढेको छ जसका कारण सत्यतथ्य बाहिर आउन सक्दैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here