मास्क खै ?

महेन्द्रनगर, २६ असार
कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली सर्वसाधारणहरुलाई माष्क अनिवार्य रुपमा लगाएर मात्रै बाहिर हिडडुल गर्न आग्रह गर्दै निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्ड सहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिडेको छ ।
कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि सरकारको निर्देशन अनुसार आफूहरु सर्वसाधारणहरुलाई माष्क लगाउन भन्दै हिडेको प्रहरी निरीक्षक केसीको भनाई छ ।


पाँच दिनअघि गृह मन्त्रालयले बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरीलाई निर्देशन दिइसकेको छ ।
“पहिलो चरणमा हामीले माष्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौं ।” उहाँले भन्नुभयो–“विस्तार निगरानी र कारबाही अघि बढ्छ ।”
विना माष्क घरबाहिर हिडे संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि बिना माष्क बजार क्षेत्रमा हिडडुल गरेको पाइए कारबाही गर्ने तयारी गरिरहेको छ ।
“सवारीसाधन रोकेर माष्क लगाउँन भन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो ।” केसीले भन्नुभयो–“माष्क आफै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।”
कञ्चनपुरमा पछिल्लो समय लकडाउन खुकुलो भएसंगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here