क्वारेन्टाइनमा सर्पको बिगबिगी

कोरोना संक्रमणले मात्रै होईन, वर्षा सुरु भएसँगै क्वारेन्टाइनमा बसेकाहरु अन्य प्राकृतिक विपदबाट पनि असुरक्षित हुन थालेका छन्। कतै हावाहुरी त कतै सर्पका कारण क्वारेन्टाइन असुरक्षित बन्न थालेका छन्।

कैलालीको भजनी नगरपालिका ५ का रणबहादुर साउद भारतको मुम्बईबाट गौरीफन्टा नाकाहुँदै भजनी पुगे। स्थानीय कर्मेश्वर मावि कुटीमा बनाइएको क्वारेन्टाइनमा १४ दिन बसे। नगरपालिकाले आरडीटी परीक्षण गर्‍यो। नतिजा नेगेटिभ आएपछि उनीसहित ८ जना घर गए। तर, घर परिवारकै सदस्यले घर पस्न दिएनन्। स्थानीयले विरोध गरेपछि उनीहरु मिलन नर्सरी सामुदायिक वनमा त्रिपाल हालेर बसे।

वरिपरी घना जंगल छ। चारैतिर खुल्ला फाँटमा खाबा गाडेर टागिएको त्रिपालमुनि रात बिताए। ‘के निन्द्रा लाग्थ्यो र ? रातभर सुतेनौं, कति बेला जंगली जनावरको डर, कतिबेला सर्प, किराको त्रास’, साउदले भने ‘आफन्तले नै घर बस्न नदिएपछि आधा सुत्ने, आधा जागराम बसेर रात बितायौं।’ गत सातादेखि पानी पर्न थालेपछि उनीहरु जंगलबाट बाख्रा राखिएको गोठमा बसेका छन्। ‘कोरोना भन्दा सर्प र किराहरुले ज्यान लिन्छन् भन्ने पीर छ’ साउँदले दुःखेसो गरे ‘पीसीआर चेक गरेको भए हामीलाई घरमै बस्न सजिलो हुने थियो। आरडीटी गरेपछि छिमेकीले नै घर जान दिएनन्, गोठको बास भएको छ।’

आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै स्थानीयले उनीहरुलाई घर आउन दिएनन्। छलफलपछि भारतबाट आएकालाई वनमा बसाइएको स्थानीय ईश्वर जोशीले बताए। ‘मेरो छोरा र ज्वाँई पनि जंगलमै बसेका छन्’ उनी भन्छन् ‘ती आफन्त हुन् तर रोग त आफन्त हुँदैन, त्यसैले हामीले त्यहाँ राख्ने सहमति गरेका छौं।’ टीकापुर नगरपालिका ६ का वडा सदस्य लायकराम चौधरी राष्टिय मावि बेलुवाको क्वारेन्टाइनमा बसेका थिए। भारतबाट आएका १८ महिलासहित ५५ जना रहेको क्वारेन्टाइन कुर्न उनी आफैं बस्ने गर्छन्।

गत शुक्रबार राती ११ बजे उनी शौचालय जान निस्किए। ढोकाको छेउमै झण्डै ५ फिट लामो करेत सर्प देखेपछि उनी तर्सिए। तराई क्षेत्रमा निकै बिषालु मानिने त्यो सर्पलाई क्वारेन्टाइन बस्नेले मुस्किलले मारे। यी केही उदाहरण मात्रै हुन्। भारतबाट आएकालाई राखिएका क्वारेन्टाइन वर्षायाम लागेसँगै निकै असुरक्षित बनेका छन्। तराई क्षेत्रमा सर्प निस्किने क्रम बढेको छ। ‘क्वारेन्टाइन राखेपछि हामीले पाँच वटा सर्प मारिसकेका छौं’ चौधरीले भने ‘दिउँसोको समयमा आउँदा खासै डर नभएपनि बालबालिका र महिलासमेत रहेको क्वारेन्टाइनमा राती सर्प, विषालु किराको डर बढेको छ।’

कैलालीमा भारतबाट आएकालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राखिएपनि केही भवन जीर्ण छन्। जीर्ण भवनमा सरसफाईको कमीले संक्रमण फैलने जोखिम बढेको छ। विद्यालयका भुइँ तला निकै असुरक्षित भएका कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए। ‘सबै विद्यालयमा झ्याल ढोका त्यत्ति राम्रा छैनन्’, उनले भने, ‘भुइँतलामा वर्षायाममा सर्प, भ्यागुत्ता, विषालु किराको जोखिम छ।’

क्वारेन्टाइन बनाइएका विद्यालयका भुइँतलामा सर्प, भ्यागुत्ता र विषालु किराको जोखिम छ।

अस्तव्यस्त क्वारेन्टाइन

बैतडीको मेलौली नगरपालिका ७ का किशोर कार्की २० दिन पहिले गौरीफन्टा नाकाहुँदै स्वदेश फर्के। भारतीय क्वारेन्टाइनमा भोकभोकै बसेको पीडा लिएर स्वदेश फर्केका यताका क्वारेन्टाइनमासमेत उस्तै समस्या भोगिरहेका छन्। ‘एउटै विद्यालयमा ८८ जना बसिरहेका छौं, शौचालय प्रयोग गर्न पानी छैन्। क्वारेन्टाइनमा कोचाकोच छ। क्वारेन्टाइन बसेको १९ दिन हुँदासमेत घर पठाइएको छैन। हामीलाई क्वारेन्टाइनमा निकै समस्या छ’, उनले भने।

पुर्चौंडी नगरपालिका ४ स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा मंगलबार एक महिलाले ज्यान गुमाइन्। लामो समयदेखि मुटुरोगी रहेकी उनले औषधिको अभावमा अकालमै मृत्यु भयो। उनको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ। ‘हामी जस्ता गरिब औषधि नपाएर मरिरहेका छौं, क्वारेन्टाइनमा मात्रै राखियो तर, के समस्या छ भनेर कसैले पनि सोधेनन्। अहिले श्रीमति नै गुमाउनु पर्‍यो’, मृत्तकका श्रीमान् किशोर लुहारले दुःखेसो पोखे, ‘क्वारेन्टाइनबाट के लिएर घर फर्कौ? जीवन जिउने आधार नै सकिएपछि अब के नै बाँकी रह्यो र ? ’

भारतबाट फर्किएपछिको क्वारेन्टाइनको बसाई निकै असहज भइरहेको सुर्नया ६ का केशवराज अवस्थीले बताउँछन्। खानपिनको व्यवस्था भएपनि बसोबास र शौचालयको समस्या रहेको उनले बताए। पछिल्लो समयमा भारतबाट फर्किनेको संख्या बढ्दै गएपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउँछन्। बैतडीको पाटन नगरपालिकाका क्वारेन्टाइनमा पनि खानेपानी र शौचालयको समस्या छ। विद्यालयमा एक दुई वटा मात्रै शौचालय हुने र भएका पनि पानीको अभावमा प्रयोग गर्न सास्ती भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनले भने ‘हामीले दमकलको सहायताले पानी बोकेर क्वारेन्टाइनमा पानीको जोहो गरिरहेका छौं, धेरै नागरिक भएकाले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन समस्या भएको छ।’

क्वारेन्टाइन बस्नेको संख्या बढ्दै गएपछि स्थानीय तहले क्वारेन्टाइनमा न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेका छैनन्। स्थानीय सरकारको एक्लो प्रयासले क्वारेन्टाइनमा व्यवस्थापनमा निकै सकस भएकाले तीनवटै तहका सरकारको सहयोग आवश्यक रहेको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट बताउँछन्।

दार्चुलामा झन् सकस

दार्चुलाका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन बस्नेको बिजोग भएको छ। नाम मात्रैका क्वारेन्टाईन बनाइएको छ। बसोबासका लागि भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड भए पनि त्यो हुन न सकेको महाकाली नगरपालिकामा बस्नेहरुले गुनासो गरेका छन् । भारतको गवा, दिल्ली, सिम्लाबाट आएका सबैलाई एउटै छानामुनि राखिएको छ । उनीहरुलाई भौतिक दूरी कायम गरी राखिएको, तर ओढ्ने-ओछ्याउने बजार बन्दका कारण सोचे जस्तो नभएको बिपद व्यवस्थापन प्रमुख भुवन जोशीले बताए ।

मालिकार्जुन गाउँपालिका २ मा पनि भारतबाट आउनेको संख्या निकै बढेको छ। भारतबाट आएको २० दिन हुँदा पनि स्वास्थ्य परीक्षण गरिएको छैन। ‘खाना खाजा पनि नियमित छैन, समयमा खाना खाजाको माग गर्दा तिम्रो घर हो र भनेर हेला गर्छन्’ क्वारेन्टाइनमा रहेका मदनसिंह धामीले भने। तर, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भने सबै स्थानीय तहको निरीक्षण भएको बताउँछन्। क्वारेन्टाइनको राम्रो व्यवस्थापन भएको र खानपिनको अभाव नभएको उनले दावी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here