लकडाउनका बेला सुदूरपश्चिममा एक अर्वको क्षति

महेन्द्रनगर, २७ जेठ
कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु लकडाउनका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछा लगायतका क्षेत्रमा गरी करिब रु एक अर्व बराबरको क्षति भएको छ ।
मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ वागवानी विकास अधिकृत खगेश्वर प्रसाद शर्माले लकडाउनका कारण सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कृषितर्फ बोइलर कुखुरा पालन, बिक्री वितरण र उत्पादनमा भएको बताउनुभयो ।
“बोइलर कुखुराको दानापानी, खोप बन्द हुनुका साथै किसानहरुले करिब ५० हजार कुखुरा गाड्नुपर्दा मात्रै रु २५ करोड बराबरको क्षति भएको रेकर्ड छ ।” प्रवक्ता शर्माले रासससित भन्नुभयो–“लकडाउनको पहिलो महिना धेरै क्षति पुगेपनि त्यसपछि सरोकारवाला निकायसितको समन्वयमा कृषिक्षेत्रमा सहजीकरण हुदा राम्रो पनि भयो ।”
कुखुरा उत्पादन दाना उत्पादन, अण्डा उत्पादन तथा बिक्रीमा समस्या हुदा गरेर रु ५० करोड क्षति भएको उहाँको भनाई थियो ।
“अहिले बजारमा कुखुराको मुल्य बढ्नुका साथै अभाव पनि देखिएको छ ।” उहाँले भन्नुभयो–“आहारकै कारण चल्ला नष्ट गर्दा अहिले अभाव हुनु स्वभाविक हो ।”
उहाँले तरकारी बिक्रीमा सहजीकरण गरेकै कारण धेरै नोक्सान हुन नपाएको बताउनुभयो ।
“हावाहुरी र पानीले केहीहद्सम्म बगरको तरकारी क्षति पु¥यो ।” शर्माले भन्नुभयो–“सहजीकरणले नै किसानहरुले गहुँ भित्र्याउन पाउनुका साथै अहिले धानको बिउ र मल सहजै उपलब्ध भइरहेको छ ।”

लकडाउनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन भएको तरकारी र फलफुल निर्यात हुन सकेन् ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा गरी नौ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती, एघार हजार हेक्टरमा मात्रै आलु खेती, पहाड र तराईमा गरेर ८ हजार हेक्टर फलफुल खेती हुदै आएको मन्त्रालयले जनाएको छ ।
“लकडाउन अघि सुदूरपश्चिममा दैनिक ४० हजार लिटर दुध बजारमा आउथ्यो ।” शर्माले भन्नुभयो–“दुग्ध उत्पादनमा मात्रै दैनिक रु ८० लाखको क्षति भइरहेको छ ।”
मासु बिक्रीमा रु २ देखि ४ करोड क्षति पुगेको बताउँदै उहाँले पाँच सय टन माछा समेत लकडाउनका कारण बिक्री हुन नसकेको जानकारी दिनुभयो ।
“तरकारीमा दैनिक ५० टन बिक्री हुन समस्या भयो ।” शर्माले भन्नुभयो–“तरकारीमा मात्रै रु २ देखि ३ करोड क्षति भएको छ ।”
कृषि क्षेत्रमा भएको क्षतिबारे केन्द्रीय कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशमको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको छ ।
“ पछिल्लो समय स्थानीय प्रशासनसित समन्वय हुँदा यहाँका सहकारीहरुले करिब ६ सय टन डिएपी मल भैरवाबाट यहाँ ल्याएका छन ।” उहाँले भन्नुभयो–“धानको बिउ भने सुदूरपश्चिमकै स्थानीय उत्पादन प्रर्याप्त छ ।”
मन्त्रालयले कृषि ज्ञान केन्द्र लगायतका निकायमार्फत रु २ करोडको अनुदानको धानको बिउ किसानहरुलाई ५० प्रतिशत अनुदान रकममा वितरण गरिएको जानकारी दिनुभयो ।
“बिउका लागि हामीले अरुको मुखताक्नु पर्ने अवस्था छैन ।” उहाँले भन्नुभयो–“२ हजार टन बिउ स्थानीय उत्पादन छ ।”
त्यसैगरी प्रदेश कृषि मन्त्रालयको चालु आर्थिक बर्षको करिब ५० प्रतिशत रकम फ्रिज जाने सम्भावना रहेको छ ।
“चालु आव २ अर्व ८० करोड बजेट थियो ।” प्रवक्ता शर्माले भन्नुभयो–“लकडाउनका कारण ५० प्रतिशत रकम खर्च हुनेसक्ने सम्भावना कम छ ।”
लकडाउनका कारण सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका विभिन्न कार्यक्रमहरु सञ्चालन हुन सकेनन् ।
“यान्त्रिकरण लगायत केही ठुला योजनाको काम भने हुदैछ ।” शर्माले भन्नुभयो–“कृषि क्षेत्र यस बर्ष समस्यामा रह्यो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here