क्वारेन्टाइनमा योग सिकाउँदै वडाध्यक्ष

महेन्द्रनगर, २७ जेठ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु आफ्नो वडामा रहेका क्वारेन्टाइनमा बसेकाहरुलाई योगसाधना सिकाइरहनु भएको छ ।
भारतबाट आएर वडाका विभिन्न सामुदायिक विद्यालय भवनमा आश्रय लिइरहेका स्थानीयलाई वडाध्यक्ष पनेरुले हरेक दिन बिहान योगसाधना कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।
सोमबारदेखि स्थानीय सिद्धबैनाथ माध्यमिक विद्यालयबाट योग कक्षा सुरु गरेका वडाध्यक्ष पनेरुले नगरभित्रका सबै क्वारेन्टाइनमा योग शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
भारतको हरिद्धारबाट योक प्रशिक्षकको तालिम लिनुका साथै युवा नेपाल योग समिति कञ्चनपुरका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष पनेरुले सामाजिक दुरी कायम राख्दै हरेक दिन विद्यालयको चउरमा योगशिविर सञ्चालन हुने बताउनुभयो ।
“योगले मानिसलाई स्वस्थ्य रहन र शरीरमा प्रतिरक्षा क्षमता बढाउन सहयोग पु¥याउँछ ।” वडाध्यक्ष पनेरुले भन्नुभयो–“चैत महिनादेखि नै क्वारेन्टाइनमा योग शिविर चलाउने योजना रहेपनि विविध कारणले सम्भव भएन ।”
उहाँले शुक्लाफाँटा नगरपालिकाभित्र रहेका हरेक क्वारेन्टाइनमा दुई÷दुई दिनको योग शिविर सञ्चालनका लागि नगरप्रमुखसित समन्वय गरिरहेको बताउनुभयो ।
“महामारी जस्तो विपत्का बेला हामीले उच्च मनोभाव राखेर समुदाय र आम नागरिकका हितमा काम गर्ने हो ।” उहाँले भन्नुभयो–“संक्रमणको त्रासले भागेर मात्रै समस्या समाधान हुदैन ।”
उहाँले वडाको करिब रु चार लाख रकम रकमान्तर गरेर वडाका दुई वटा स्थानमा रहेका क्वारेन्टाइनमा बसेकाहरुको खानपिनको प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।
“क्वारेन्टाइनमा बसेहरुलाई बिहान खाजादेखि दुई समय खानाको प्रवन्ध वडाबाटै मिलाएको छौं ।” उहाँले भन्नुभयो–“दुई वटै क्वारेन्टाइनमा गरेर ११६ जना बसिरहेका छन ।”
उहाँले क्वारेन्टाइनमा बस्नेहरुको संख्या थपघट भइरहेको समेत बताउनुभयो ।
“भोलीदेखि योग आयुर्वेद कक्षालाई थप प्रभावकारी बनाउँदै लैजानेछौं ।” उहाँले भन्नुभयो–“योग शिविरमा नगरप्रमुख र पतञ्जली नगर योग समितिका पदाधीकारी पनि आउने कुरो छ ।”
कञ्चनपुरका केही योग प्रशिक्षकहरुले सामाजिक सञ्चालनमार्फत योग कक्षा सञ्चालन गरिरहेको भएपनि आफू पहिलो पटक क्वारेन्टाइनस्थलमै पुगेर शिविर सञ्चालनमा जुटेको उहाँको भनाई थियो ।
योग साधाना कक्षा पाएपछि क्वारेन्टाइनमा बसेकाहरुले खुसी व्यक्त गरेका छन् ।
“वडाध्यक्ष पनेरु जी आफै योग प्रशिक्षक हो भन्ने थाहा थियो ।” सिद्धबैजनाथ माध्यमिक विद्यालयमा बसिरहेका स्थानीय जयदेव भट्टले भन्नुभयो–“योगले हामी सबै मानसिक रुपले पनि स्वास्थ्य भएको महुशष भएको छ ।”
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका नौ वटै स्थानीय तहमा १८० स्थानमा क्वारेन्टाइन सञ्चालनमा रहेका छन् ।
भारतबाट फर्किएर यहाँका ८ हजार ३५१ जना नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here