५ घण्टा हिँडेर आमैले पाएको बाजुरा जान्या पास

अब, क्या गर्नु सर? बुढा रक्सीइइइइ मात्त खान्या। बच्चा इण्डिया काम अर्न गयाका। घर कोई नाइँ। एक्ली ट्यान्सन मात्त मान्दो।’

अन्यत्र झैं कञ्चनपुरमा लकडाउनले आवागमन र जनजीवन कठिन बनाउँदै थियो। २०७७ वैशाख १७ गते बुधबार बिहान घडीको सुई घस्रिएर १० बजेर ५७ मिनेटमा अडिएको थियो। कार्यालयको पल्लो कोठामा ल्याण्डलाइन फोन बज्यो।

म कोठा नं. १०३ मा टेलिफोन उठाउन पुगेँ। जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले केही पहाडी जिल्लाका बिरामीको लागि निशुःल्क औषधि पुर्‍याउन ‘हुलाकी’ को काम सुरू गरेकाले त्यसबारे बुझ्न सेवाग्राहीले फोन गरेका रहेछन्।

उता फोनबाट आएको आवाज मेरो कानमा ठोक्किरहँदा मेरो नजरमा भने एकजना महिला सेवाग्राही ठोक्किनु’भो।

होचो कद। मुखमा कपडाको धर्के मास्क। मास्कका डोरीले तन्किएर अलिकति उठेका कान। अनि त्यही कानमा तुर्लुङ्ग झुण्डिएका सुनका गहना। बायाँ हातमा तीन वटा, दायाँमा छ-सात वटा काँचका राता चुरा छन्छन् बजाउँदै हार्दिक नमस्कार गर्नुभयो।

मैले नमस्कारका लागि नमस्कार फर्काएँ।

म फोनमै छु। उहाँले टेबलमा तीन थान कागज राख्नुभयो।

एउटा, चिर्कटो जसमा गाडीको नम्बर, चालक र मालिकको नाम लेखिएको थियो।

दोस्रो, शुक्लाफाँटा, १० नं. वडा कार्यालयको सिफारिस। झलारीबाट बाजुरासम्म जान।

तेस्रो, रामदेवी शाहीको औंठाछापसहितको पास पाउँ भन्ने व्यहोराको निवेदन।

फोनमा वार्तालाप सकिएपछि कुरो बुझेर पनि औपचारिकताका लागि सोधेँ ‘तपाईं केका लागि आउनुभो?’

‘सर न ! पास बनाइ दि’ हाल। पल्लो कमराका केटाले निवेदन लेखिदियाको छ।’

कहाँ जाने पास बनाएर?

‘उउउउउ बाजुरा झान्या। दुई मैना भइग्या। बस्याकाई छौं। अब त खानै मुश्किल भइग्यो। पहाड घरमा सासु पन बिरामी छन्। बुऽऽऽऽऽऽढी सासू। बयासी वर्षकी।’

अनि को-को जानुहुन्छ त?

‘मु र मेरा ३ छोरा जान्या हुँ।’

अचम्म पर्दै सोधेँ, ‘छोरालाई पठाउनुपर्छ नि त पास बनाउन। तपाईंले किन दुःख पाउनुभयो?’

‘बच्चा नमाई (अलिकति) मोटो छ। इण्डिया बस्याको मान्छे, हिँडी सक्दैन होला मान्या। त्यसैले मु आफैं आया।’

एकछिन ट्वाल्ल परेर सोचेँ, ‘छोरा छोरै हुन्छ, आमा आमै।’

फेरि सोधेँ, ‘बुढी मान्छेले निकै दुःख गर्नुभएछ?’

‘कहाँ बुढी हुनु? भर्खर छयालिस वर्ष भयाका छन्।’

साठीजति लागेर सोधेको। उमेर बढी देखिन्छ त किन आमा ?

‘यसै ट्यान्सनले कमजोर भया। छिटै बुढी धेक्किन लाग्या।’

किन टेन्सन लिनुहुन्छ त?

‘अब, क्या गर्नु सर? बुढा रक्सीइइइइ मात्त खान्या। बच्चा इण्डिया काम अर्न गयाका। घर कोई नाइँ। एक्ली ट्यान्सन मात्त मान्दो।’

कति केटाकेटी छन्?

‘चार छोरा छन्। छोरी नाइँ।’

कति पढेका छन् छोराहरूले?

‘पढ्याका नाइँ हजुर। जेठो छोरो हो बढी पढ्याको। दस पास गर्‍याको छ। माइलो आठ पास। अरू दुई खासै पढ्याका नाइँ। जेठो छोरो मात्त कमाउन्या छ। बच्चाको खर्च। घर खर्च। सासू बिरामी। घर लगाउन लाग्याका थियाउ। बन्द भयो, रोग आयो। तीन लाख रुप्या झिक्याका छन् ब्याजे। पाँच रुप्या ब्याज तिर्नु। पुरानो पुर्ख्यौली घर छाड्नु नाइँ भन्यो सबैले। देवता पनि लाग्न लाग्या। त्यसैले नयाँ घर बनाउन लाग्याउ।

सर न ! दुःखै दुःख छन्।’

यथार्थपरक र मार्मिक कुरा गरिरहनु भएकाले उहाँलाई अरू बोल्न हौस्याउँदैछु। एक कानले उहाँका कुरा सुन्दैछु, अनि सेवाग्राहीको काम पनि गर्दैछु। बेलाबेलामा उहाँका भावभङ्गी हेर्छु।

भीड बढेपछि म आफ्नै कार्यकक्षमा गएँ। आमै पछिपछि आउनुभयो। सामाजिक दुरीसमेत कायम गर्दा तीनतिरै सोफा र कुर्सीसमेत गरी कम्तीमा पन्ध्र जना अटाउने कोठामा आमै चप्पल ओछ्याएर भुइँमा टुक्रुक्क बस्दा मेरो मन कक्रक्क भयो। मैले माथि सोफामा बस्नुस् भने।

टेबलको कुनामा राखिएको शिशाको गिलास र पानीको बोतल तेर्स्याउँदै पानी खानुहुन्छ भनी सोधेँ।

‘सर न ! भख्खरै बाहिर एक जग पानी खाएर आयाकी हुँ। बिहानै पाँचै बजे हिड्याकी घरबाट। बाटामा केई खान पाइएनँ। कति गाडीलाई लैजाउ भनेँ, कसैले ल्याइदिएनन्। हिडेरै आयाँ। पाँच घण्टा लाग्यो।’

उफ ! पास लिन पाँच घण्टा। अनलाइन पास त बनाइएको छ। तर निवेदन समेत पल्लो कमराको केटालाई लेखी माग्ने औंठाछाप आमैलाई त्यसको के अर्थ ? मोबाइलै नबोक्ने आमैलाई म्यासेजमा आउने पासको के स्वाद?

पास पायो भने कसरी जानुहुन्छ त बाजुरा?

‘मेरो मल्ला घरको जीपले पुर्‍याई दिन्या हो। ऊ पनि एक महिनादेखि यतै अड्क्याको छ।’

भाडा कति भनेको छ?

‘पन्ध्र हजार। छोरासँग कमाइकन ल्यायाका दस हजार भा.रू. छन्। त्यसैबाट दिन्या हुँ।’

महँगो भएन?

‘क्या अर्नु त सर न ! पाँच हजारको तेलै हाल्नुपर्न्या रैछ। दुई हजार डाइबर भत्ता। दुई–दुई हजार हामी चारजनाको भाडा अरे।’

लेखापढी नभए पनि आमैको हरहिसाब ‘क्लियर’ रहेछ।

अनि घरबार यतै पनि भएको मान्छे किन पहाड जानु त? आरामले बस्नुस्, खुलेपछि जानुहोला।

‘सर न ! घर त छ। एक तले। पन्ध्र वर्ष डिल्ली बस्याका हौं, सबै परिवार। अलिअलि पैसा ल्याएर झलारीमा घर मात्त बनायौं। तीन कोठाको। घर भएर क्या अर्नु, खान छैन।’

अनि वडाले राहत दियो होला नि !

‘आफ्ना मान्छे कोई नाइँ। नाम लेखाई दिएइन्। आ–आफ्नै पक्षको मात्त लेखाए। जल्ले लेखाए, उनैले पाए। पछिल्लो पालि, पछिल्लो पालि भने। लास्टमा केई दिएइन हामीलाई। दियाको भन्याको एइ बाजुरा जान्या सिफारिस हो सर न !’

उहाँलाई म्यानुअल पास बनाइदिन तोक लगाएको थिएँ। काम बनुन्जेल मेरै कोठामा राखेर कुरा सुनिरहेँ।

कोठामा झुण्डिएको भित्ते घडीमा पुलुक्क पुलुक्क हेर्नुहुन्थ्यो, ‘बार (ढिला) भइजान्या हो कि सर न? बाह्र बज्न लाइग्यो।’

मेरो भावभङ्गी उहाँले पढिसक्नुभएको थियो सायद। पास पाउनेमा ढुक्कै देखिनु हुन्थ्यो।

‘आजैको पास न दिया सर न ! भोलिको दिया। आज त बेलुकै पुग्न्या हुँ घर। कसै गाडीले लिई दिदैनन्। अझ चार-पाँच घण्टा हिड्नुपर्न्या हो।’

नआत्तिनुस्। तपाईंलाई अब हिडेर जानुपर्दैन आमा। गाडीमै पठाई दिउँला।

‘भोलि बिहानै जान्या हौं बाजुरा। बाटामा खान पाइन्या होइन, रोटी पकाएर बाँधेर लिनु पर्न्या हो।’

बाजुरा कुन ठाउँ हो घर?

‘कैलाशमाडौ। वडा नं. १० सै हो। उता पनि, यता पनि १० सै।’

उहाँले कार्यकक्षमा प्रवेश गरेको पैंतीस मिनेटमा पास तयार भएर आइपुग्यो।

मैले ड्युटीका सशस्त्र प्रहरी हवल्दारलाई बोलाएर भने, ‘हवल्दार साब, उहाँलाई ट्राफिक चोकमा लिएर जानुस् र आउने पहिलो गाडीमै चढाएर झलारी पठाइदिनुस्। चालकको नम्बर मागेर ल्याउनु होला।’

तपाईं ठ्याक्कै कहाँ जाने भन्नुस् त?

‘झलारी खुलामञ्च।’

सुन्नुभो नि हवल्दार साब?

‘सुनेँ हजुर। जय नेपाल साब।’

यता पास मिल्यो, उता गाडी। आमैका ओठ मास्क भित्रै मुस्कुराए। निधारमा दौडिरहेको खुसीले त्यही भनिरहेको थियो।

दुई हात जोड्दै आमैले भन्नुभयो- ‘बस्नु त।’

मानौं उहाँ आफ्नै मान्छेलाई छोडेर जाँदै हुनुहुन्छ।

आमै चप्पल छट्काउदै ओझेल हुनुभयो।

म मेचमाथि बसिरहेँ, मनमनै भनिरहेँ, ‘शुभयात्रा आमै।’

(लेखक जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here