ओझेलमा रानाथारुकोे ३८ दिने होली

महेन्द्रनगर,२८ फागनु
कञ्चनपुर र कैलालीमा बसोवास गर्ने रानाथारु समुदायको ३८ दिनको होली ओझेलमा छ ।
अन्य समुदायको होली पर्व मङ्गलबार सकिएपनि रानाथारु समुदायको होली अझै सकिएको छैन । रानाथारु समुदायको प्रमुख पर्वको रुपमा रहेको होली पर्व अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ ।
३८ दिनसम्म मनाइने रानाथारु समुदायको होली माघ पूर्णिमा देखि सुरु हुन्छ । रानाथारु समुदायमा दुई चरणमा होली पर्व मनाईने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमा देखी फागुन पूर्णिमासम्म जिउँदो होली मनाईन्छ । त्यसपछिको ८ दिनको समय मृत होरी मनाउने प्रचलन रहेको छ । यसरी रानाथारु समुदायले ३८ दिनसम्म होली मनाउने गरेका छन ।
फागु पूर्णिमापछि रानाथारु समुदायमा निकै रौनक छाउँछ । गाउँभरिका महिला पुरुष वृद्ध देखी बालक सम्म सबैजना रातदिन होली खेल्छन । ‘होली खेलेकै घरमा खाना खान्छौ रातभरि होली खेलेर रमाईलो गछौ ।’ कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मुले रानाले भने–‘पहिलेको भन्दा अहिले होली मनाउने चलन फेरिदै छ ।’ रानाथारु समुदायको पूर्व भलमन्सा समेत रहेका रानाले होली मनाउने चलन फेरिदै गएको प्रति चिन्ता व्यक्त गरे ।
‘पहिले त महिलाहरुले घगरिया,अङिया,फतुइ(सिक्काको माला) र परुषले घगिया पहाना,तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरी होली खेल्थ्यौ ।’ रानाले भने–‘अहिले डिस्को डिजेमा मात्रै सिमित हुँदै छ होली खेल्ने समय पनि छोटिदै गएको छ ।’
हरेक वर्ष रौनकता छाउँने रानाथारु समुदायको होलीमा यसपटक विगतको भन्दा रौनकता छाएको छैन । कोरोना भाईरसको त्रासका कारण यसपटक होली खेल्न सबै डराएको रानाले बताए ।

‘पहिले परम्परगत पहिरनमा महिला पुरुषले होली खेल्ने गर्थे ।’ स्थानीय साहेब रानाले भने–‘अहिले हाम्रो संस्कृति लोह हुँदै गएको छ ।’ उनले पछिल्लो समय गाउँका युवापुस्ताहरु संस्कृति संरक्षणमा लागेको बताए । भीमदत्तनगरपालिका–१९ का वडा सदस्य समेत रहेका रानाले पछिल्लो समय जिल्लामा हुने सांस्कृतिक कार्यक्रमहरुमा रानाथारु समुदायको संस्कृति झल्किने झाकी प्रस्तुत गर्ने गरेको बताए ।
‘नयाँ पुस्तामा होली मनाउने समय छोटिदै गएको छ ।’ रानाले भने–‘माघ पूर्णिमाको दिनदेखी सुरु भएको होली फागु पुर्णिमासम्म होलीका गीतहरु गाउँदै, नाच्दै मनाउने र फागु पुर्णिमाको दिन होली दहन गरी आठ दिनसम्म मान्यजनका घरमा होरीको गीत गाउँदै, नाच्दै मनाउने चलन छ ।’
रानाथारु समुदायकोे पहिचान दिलाउने मौलिक लोक संस्कृतिक लोप हुँदै गएको बागफाँटाका दानी रानाले बताए । ‘अहिले रानाथारु समुदायको परम्परागत पहिरन केहि पर्वहरुमा मात्रै देखिने गरेको छ ।’ उनले भने–‘ अहिले होली लगायतका मौलिक संस्कृति मनाउने प्रचलनमा निकै कमि आएको छ । ’
रानाथारु समुदायका जानकारहरुका अनुसार हिरन्यकस्यपले आफ्नो छोरा प्रल्हाद विष्णु भगवानका भक्तलाई मार्नकानिम्ती आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन । तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका थिए । प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपु होलीकाको काखमा बसे ।
जब होलिकालाई आगो लगाइयो त्यस समय होलिका जलेर राख भइन भने प्रल्हादलाई अग्निले केही पनि गर्न सकेनन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होरीपर्व रानाहरुले मनाउने गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here