साबुन पानीले हात धुँदा कसरी ध्वस्त हुन्छ कोरोना भाइरस ?

कोराना भाइरसलाई बुझ्ने र बच्ने सरल तरिका

कोरोनाभाइरस (कोभिड १९) भाइरस मुख्यत तीन तत्वहरु आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सूक्ष्म कण (एक इन्चलाइ दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रो साइजको) हो । यसको बाहिर आवरणमा लिपिड हुन्छ ।

आरएनएले भाइरसको अनुवंश (जीन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ । प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाई सार्न (हाम्रो भाषामा भन्दा संक्रमित गर्न मद्दत गर्दछ) । यसको प्रोट्रिन क्राउन (मुकुट) आकारको हुने भएकाले यसलाई कोरोना भाइरस भनिएको रहेछ ।

लिपिड अर्थात बोसो यसको सुरक्षा कबच भइहाल्यो, हाम्रो छाला जस्तो । हामीले मासु खाँदा हातमा लागेको बोसो पखाल्न साबुनको प्रयोग गर्छाैं । साबुनमा भएको रसायनले बोसोको अणुलाई ध्वस्त गर्छ र हातमा लागेको बोसो जान्छ र हात सफा हुन्छ ।

हो, त्यसरी नै साबुन पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरको बोसोले बनेको आवरण ध्वस्त हुन्छ (यदि तपाइको हातमा कोरोनाभाइरस कतैबाट आएर बसेको छ भने) र कोरोना भइरसको त्यो सूक्ष्म कण निष्प्रभावी बन्छ, मर्छ ।

त्यसैकारण स्वास्थकर्मी र विज्ञहरूले साबुन पानीले हात धुनु भनेका रहेछन् । रक्सी (अल्कोहल) भएका सेनिटाइजरहरूले पनि यस्तै काम गर्छ तर साबुन जतिको प्रभावकारी हुँदैन । त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो । साबुन पानीले हात धुने बानी बसालौं ।

जब यो भाइरसले हाम्रो शरीरमा आक्रमण गर्दछ । तब यसको आरएनएले हाम्रो शरीरको कोषलाई स्वतन्त्र रूपमा काम गर्न दिदैंन र भाइरसले भनेको अनुसार काम गर्न लगाउँछ । जसरी कम्प्युटरमा भाइरस पस्यो भने हामीलाई एउटा वेबसाइट टाइप गर्दा अर्कै वा अश्लिल साइटमा लग्छ ।

त्यसरी कोरोना भाइरस मानिसको शरीरमा पस्यो भने हाम्रो शरीरको कोषलाई यसले नियन्त्रण गरेर उसले भनेको जस्तो काम गराउँछ । त्यसरी भाइरसले हाम्रो शरीमा थुप्रै कोरोना भाइरसको सन्तान उत्पादन गरिदिन्छ त्यसको लागि हाम्रो कोषमा भएको बोसो र प्रोटिनले सहयोग गर्छ ।

त्यसका सन्तानहरू हाम्रो शरीरको विभिन्न भागमा प्रशारण हुन्छ । फोक्सोमा पुग्छ र फोक्सोबाट श्वास फेर्दा वा हाछिँउ गर्दा त्यो भाइरस रोगीको शरीरबाट बाहिर आउँछ । त्यसैले हामीलाई मास्क लगाउन भनिएको हो । त्यो अरूलाई नसारोस् भन्नको लागि ।

म कुनै भाइरोलोजिष्ट वा संक्रमण विज्ञ होइन । यसबारे सूचनाहरू पढ्दै जाँदा मैले भेटेको र पढेको कुराहरूलाई यहाँ राखेको मात्रै हो । विषेश गरी न्यूसाउथवेल्स विश्वविद्यालयका प्राध्यापक पाल थोन्डरसनको टुइटरबाट लिएका कुराहरू उपयोगी ठानेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here