घटेन महिला हिंसा

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याका आरोपित घटना भएको २० महिना बित्दा पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरी र सरकारी छानबिन समितिका फरक–फरक खालका प्रतिवेदनले यो घटनाको अनुसन्धान झनै अन्योलपूर्ण बनेको छ ।

महोत्तरीको भंगाहा नगरपालिका–४, बिर्ताकी एक महिला गत साउन ३२ मा त्यही गाउँकै अन्य महिलाबाट बोक्सीको आरोपमा निर्घात पिटिइन् । मानव मलमूत्र खुवाएर ती महिलालाई कुटपिट गरिएको थियो । गएको मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३, सिद्देश्वरीकी २१ वर्षीय पार्वती रावतको महिनावारी बार्ने क्रममा छाउगोठमै ज्यान गयो ।

यी लैंगिक हिंसाका केही प्रतिनिधिमूलक घटना हुन् । बोक्सी आरोप, यौन शोषण, छाउप्रथा, घरेलु हिंसा लगायतका अपराधबाट महिला तथा बालबालिका पीडित हुने क्रम घटेको छैन, प्रहरीको तथ्यांकले बढेकै देखाउँछ । महिला तथा बालबालिकासम्बन्धी अपराध पछिल्ला छ वर्षमा मात्रै १७ हजार हाराहारी भएको प्रहरीको तथ्यांक छ । आव २०७०/७१ मा महिला हिंसासम्बन्धी २ हजार १६ वटा घटना भएका थिए । ०७१/७२ मा २ हजार ३ सय ३१, ०७२/७३ मा २ हजार २ सय ९५, ०७३/७४ मा २ हजार ४ सय ३९, ०७४/७५ मा ३ हजार २ सय ५५ वटा घटना भए । ०७५/७६ मा महिला हिंसासम्बन्धी ४ हजार ४ सय २६ वटा घटना भए । ‘यो प्रहरीमा दर्ता भई अदालत र प्रशासनमार्फत मुद्दा चलेको विवरण मात्रै हो,’ प्रहरी प्रवक्ता डीआईजी शैलेस थापा क्षत्रीले भने ।

प्रहरीका अनुसार पछिल्ला छ वर्षमा २ सय २७ जना महिला बोक्सीको आरोपमा कुटिए । ७ हजार ८ सय २९ महिला तथा किशोरी बलात्कृत भए । १ हजार ३ सय ६१ महिला मानव तस्करको फन्दामा परे । प्रहरी र अन्य औपचापरिक तथा अनौपचारिक माध्यममार्फत हिंसा पीडित महिलालाई पीडकसँग मिल्न बाध्य बनाइएका घटना पनि थुप्रै हुन सक्छन् ।

महिला बालबालिकासम्बन्धी अपराध हेर्नकै लागि नेपाल प्रहरीले केन्द्रमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र त्यस मातहत देशभर २ सय १० स्थानमा सेल स्थापना गरेको छ । त्यसबाहेक विद्यालय, सामाजिक संघसंस्था, समुदाय–प्रहरी कार्यक्रममार्फत पनि महिला हिंसाविरुद्धका अभियान चलाइएका छन् । तैपनि हिंसाका घटनामा कमी देखिँदैन । ‘अपराधविरुद्ध उजुरी दिने क्रम बढेर पनि मुद्दाको संख्यामा बढोत्तरी आएको हुन सक्छ,’ प्रवक्ता क्षत्रीले भने ।

घरेलु हिंसा तथा अन्य अपराधबाट सिर्जित परिणामका कारण आत्महत्या गर्नेको संख्या पनि विकराल देखिन्छ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै मुलुकभरमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष र महिला बराबरै रहेको प्रहरी प्रवक्ता क्षत्रीले बताए । ‘आत्महत्याको मुख्य कारण घरेलु हिंसा पनि हो,’ उनले भने । नेपाली कांग्रेसकी सांसद तथा महिला अधिकारका पक्षमा क्रियाशील नेत्री डिला संग्रौलाले महिलाका हकअधिकार कानुनमा लेखिए पनि व्यवहारमा अक्षरश पालना हुन नसक्दा हिंसा नघटेको बताइन् । ‘कानुनमा भएका व्यवस्था अक्षरश पालना भए हिंसा घट्न सक्छ,’ उनले भनिन् । हिंसा न्यूनीकरणका लागि समानुपातिक समावेशी प्रतिनिधित्व, लैंगिक समता, आर्थिक सबलीकरण, सम्पत्तिमा समान हक, न्यायमा महिलाको सहज पहुँच, छिटोछरितो न्याय प्रणाली जस्ता विषयमा संसद्, सरकार, न्यायालय र राज्यका अन्य निकायमा इमानदार बन्नुपर्ने उनको भनाइ छ । ‘हामीले अरूलाई दोष दिएर हुँदैन, हामी आफैंमा समस्या छ भन्ने शीर्ष नेताहरूले सोचिदिनुपर्‍यो,’ उनले भनिन् ।

साइबर अपराधमा महिला नै बढी पीडित
एक महिलाको फेसबुक अकाउन्टमा अपरिचित व्यक्तिको ‘फ्रेन्ड रिक्वस्ट’ आयो । उनले सहजै ‘एसेप्ट’ गरिन् । म्यासेन्जरमा कुराकानी हुन थाल्यो । उनीहरू नजिकिँदै गए । ती महिला जागिरको खोजीमा थिइन् । फेसबुकका साथीले उनलाई आकर्षक जागिरको प्रलोभन देखाए । प्लेनको टिकट समेत मिलाइदिए । सुनसरी इटहरीकी ती महिला काठमाडौं आइन् । तर उनले जागिर पाइनन्, उल्टै ती केटा साथीबाट बलात्कृत भइन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले ती पुरुष र उनका भाइलाई पक्राउ परेको छ । वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार उनीहरू झापा गौरीगञ्ज–१ का ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय विशाल हुन् । फेसबुकबाट युवतीको प्रोफाइलमा अश्लील फोटो तथा सामग्री पोस्ट र गाली बेइज्जत गरेपछि प्रहरीको केन्द्रीय साइबर ब्युरोले उज्ज्वल घिमिरेले पक्राउ गर्‍यो । मनोज सिंह नगाल पनि फेसबुकबाटै नजिकिएकी एक महिलालाई म्यासेन्जर र इमोमा अश्लील फोटो पठाएपछि पक्राउ परे । इन्टरनेटको सहज पहुँच र फेसबुकको प्रयोग बढ्दै जाँदा साइबर अपराधको ग्राफ पनि उकालो लाग्दै गएको छ । केन्द्रीय साइबर ब्युरोका अनुसार चालु आर्थिक वर्षका ७ महिनामा यससँग सम्बन्धित १ हजार १ सय ८२ उजुरी परेका छन् । जसमध्ये ११ सय ३६ उजुरी फेसबुकसम्बन्धी अपराधका छन् । महिला पीडित भएको उजुरी ६ सय ८३ वटा छन् । ब्युरोले हालसम्म साइबर कसुरसम्बन्धी ३६ वटा मुद्दा चलाएको छ ।

‘आपराधिक मनोवृत्ति भएकाहरूका लागि पछिल्लो समय इन्टरनेट सजिलो माध्यम बनेको देखिन्छ,’ ब्युरोका निमित्त प्रमुख एसएसपी नवीन्द्र अर्यालले भने, ‘गाउँ–सहर सबैतिरका युवकयुवतीमा फेसबुक संस्कृति झाँगिएको छ । आफ्नै प्रेमी, विश्वास गरेकै साथी वा कुनै अपरिचित व्यक्तिबाट उनीहरू अपराधको सिकार बनिरहेका छन् ।’ सम्भावित जोखिमप्रति अनभिज्ञ हुँदा इन्टरनेटको दुरुपयोग बढिरहेको उनले बताए ।

प्रवक्ता क्षत्रीका अनुसार श्रमिक महिलाहरूले कार्यालय तथा घरेलु यौन शोषण, दबाबमा काममा लगाएको, ज्यालादारीमा विभेद, समयमै पारिश्रमिक भुक्तानी नहुने, महिला भएकै कारण आइपर्ने समस्यामा पुरुष पक्षले मानवीय संवेदनशीलता नदेखाउने लगायत समस्या लिएर पीडित पक्ष प्रहरीमा आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here