ढिँडो र फाँडो खान भीड

धनगढी,२० फागुन–सुदूरपश्चिम खाना महोत्सव अवलोकनका लागि शनिबार धनगढीको खुलामञ्च पुगेकी शर्मिला भट्ट खानाको स्वाद मात्र लिएर फर्किइनन्, घरमा पकाउन भन्दै आवश्यक खाद्य सामग्रीसमेत किनिन् । ‘आफ्नो क्षेत्रका मौलिक खाना आफ्नै भान्सामा पाक्ने रहेन छ,’ उनले भनिन्, ‘महोत्सवमा आएर मौलिक परिकारको स्वाद मात्रै चाखिएन । पकाउने तरिकासमेत सिकेर फर्कंदै छु ।’
उनले महोत्सवमा बाजुराली परिकार चिनोको खरी, कोदोको ढिँडो र रोटीको स्वाद लिएको बताइन् । ‘सिस्नोको फाँडो पनि स्वादिलो थियो । छोराछोरीलाई स्कूल जाँदा टिफिन पनि पठाउन सकिने रहेछ,’ उनले भनिन् । भट्टले कोदोको पिठो, सिस्नो, चिनो, हिमाली सिमीलगायत किनेको बताइन् । घरको भान्सामै पकाउँदा स्वस्थकर र नयाँ स्वाद हुने भएकोले पनि ती सामग्री किनेको उनको भनाइ छ ।
‘नास्ता र खानाको रुपमा घरको भन्सामा प्रयोग गर्दा स्वस्थकर हुने लाग्यो,’ भट्टले भनिन्, ‘कहिलेकाहीं पाहुनालाई नयाँ स्वादको रुपमा पस्किन सकिने भएकाले पकाउने तरिका र खाद्यवस्तु लिएको हुँ ।’

हरिना जोशीले महोत्सवले यस क्षेत्रका मौलिक परिकारलाई चिनाइदिएको बताइन् । ‘हाम्रो पुस्ताले मौलिक परिकारलाई बिर्सिंदै गएको छ,’ उनले भनिन्, ‘त्यसको जगेर्ना गर्न पनि मौलिक खानाहरू घरको भन्सामा पाक्न आवश्यक छ ।’ उनले समय–समयमा मौलिक परिकारहरू पाक्ने मेला तथा महोत्सवहरू हुनुपर्नेमा जोड दिइन् । बजारमा मौलिक परिकारका लागि चाहिने अर्गानिक खाद्यवस्तु पनि सहजै उपलब्ध हुनुपर्ने उनको माग छ ।

फागुन १४ मा सुरु भएको महोत्सवमा सुदूरपश्चिमकाका नौवटै जिल्लाका २८ भन्दा बढी परिकार पाकेको खाना महोत्सव आयोजक समितिका संयोजक कलम बमले बताए। होटल व्यवसायी संघ कैलालीका अध्यक्षसमेत रहेका बमले महोत्सव अवधिभर धेरैजनाले घरमै पकाउन भन्दै आवश्यक खाद्यवस्तु किनेर लगेको जानकारी दिए।

ठूलो आकारको डोटेली भक्के रोटी, एक हजार लिटरको भाँडोमा चारजनाले संयुक्त रुपमा पकाएको फाँडो खाना महोत्सवको प्रमुख आर्कषण बनेको थियो। सुदूर पहाडमा पाइने विभिन्न गेडागुडीबाट बनाइने एक प्रकारको सुप हो, फाँडो ।
‘सुदूरपश्चिमकै बासिन्दा भए पनि यहाँका मौलिक खानाको स्वाद चाख्न नपाएका धेरैजना भेटिए,’ बाजुरेली सेवा समाजका सुरेन्द्र थापाले भने, ‘उनीहरूले आफ्नो मौलिक खानाको स्वाद चाख्न मात्रै पाएनन्, हामीबाट पकाउने तरिकासमेत सिक्न पाए ।’ ढिँडो र फाँडो नयाँ पिढीले समेत रुचाएको उनले बताए । ठूलो आकारको भाँडोमा बनाइएकोले पनि फाँडो खाने र हेर्ने दुवै थरिको भिड लागेको थियो।

खाना महोत्सवमा डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला र डोटी गरी सातवटै पहाडी जिल्लाका खानाका स्टलहरू राखिएका थिए। कैलाली र कञ्चनपुरका आदिवासी रानाथारु र मगर समुदायले पनि छुट्टाछुट्टै स्टल राखेका थिए।

भादा होमस्टेको स्टलमा थारु समुदायका १८ परिकार खाने व्यवस्था थियो। यहाँ सबैभन्दा बढी ढिक्री, अन्डीको भात, घोंगी, गङ्गटा, माछा, कचरी बरिया, बंगुरको सुकटी बिक्री भएको छ। राना थारुले कतरा, पतौरा, फटा, ढिक्री, खजरिया तथा बैतडी समाजले मकैको रोटी, ताले माडालगायत परिकार बिक्री गर्‍यो। डोटीले बाडुली खानाको स्टलमा फाउने माडा, बाबर, गहतानी डुब्कालगायत खाना पाक्यो। अछाम सेवा समितिको स्टलमा अछामी कोदोको सेल, सिस्नोको तरकारी र सुकटी, बेथेको साग, मासका बटुकलगायत परिकार खाने व्यवस्था थियो।

आफ्नो परम्परागत भेषभुषा र संस्कारमा परिकार पस्किएकाले महोत्सवमा धेरैको आकर्षण देखिएको बमले दाबी गरे । महोत्सव एकदिन अगावै सोमबार सकिएको छ। (कान्तिपुर दैनिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here