महेन्द्रनगर,१९ फागुन
सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात वटा स्थानमा हेल्थ डेष्क स्थापना गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात वटा स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवत जावत गर्ने यात्रुहरुको स्वास्थ्य जाँच थालिएको बताउनुभयो ।
“दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको ग्डाचौकीनाकामा डेष्क सञ्चालनमा आएको छ ।” प्रवक्ता खड्काले भन्नुभयो–“गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खंग्रोला नामा स्वास्थ्यकर्मीहरुको टोली खटिएर जाँच थालेको छ ।”
उहाँले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिनुभयो ।
प्रदेश सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निणर्य समेत गरेको थियो ।
सुदूरपश्चिममा रहेकाम सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजना समेत बनाउन पहल भएको छ ।
त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सिमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणहरुलाई माष्क लगाउन अनिवार्य गर्नुका साथै सिमामा शंकाष्पद लक्षण देखिए स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।