उपेक्षामा सुदूरका पहाडी जिल्लाको ‘खेलकुद’

महेन्द्रनगर,२८ माघ
हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा सुदूरपश्चिमका खेलाडीहरुले १२ स्वर्ण, ३१ रजत र ३० काष्य पदक दिलाए ।
एकल र समुहतर्फ गरी सुदूरपश्चिमबाट ५९ जना पुरुष तथा महिला खेलाडी सहभागी रहेको यसपटकको सागमा मात्रै नभई विगतको साग खेलकुद एतिहासमा पनि सुदूरपश्चिमले मुलुकलाई पदक दिलाउँदै आएको छ । विभिन्न खेलका ९ जना प्रशिक्षक सागको बन्दप्रशिक्षणदेखि नेपाली टिम प्रशिक्षणमा व्यस्त रहे ।
मुलुकमै खेलकुद क्षेत्रमा अब्बल मानिएको सुदूरपश्चिम प्रदेशमा अझै यहाँका सात पहाडी जिल्ला खेलकुद गतिविधीले भने तिव्रता पाउन सकेको छैन् ।
क्रिकेट, कुस्ती, भारात्तोलन, तेक्वान्दो, हक्की, भलिबल, कवड्डी, फुटबल र बक्सिङ्गका खेलाडी उत्पादको थलोका रुपमा हेरिएको सुदूरपश्चिम प्रदेशमा खेल प्रशिक्षण तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर केन्द्रीत हुँदा पहाडी जिल्ला खेलकुद गतिविधीमा सुनसान जस्तै बनेका छन ।
खेल संरचना नहुनु र प्रशिक्षकको पनि अभावरहेपनि सुदूरपश्चिमका खेलाडीहरुले प्रर्दशनमा भने पछि हटेका छैनन् ।
सुदूरपश्चिम खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक तथा बक्सिङ्गका ओलम्पियन विश्णुबहादुर सिंहले क्रिकेट खेलाडी उत्पादनमा बैतडी, कञ्चनपुर र कैलाली हब नै भएको बताउनुभयो ।
“तीन जिल्लामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल खेलाडी क्रिकेटमा जन्मायो ।” प्रशिक्षण केन्द्रका निर्देशक सिंहले भन्नुभयो–“तर अझै क्रिकेटमा सुदूरपश्चिमले स्थायी प्रशिक्षक पाउन नसक्नु दुखद् कुरो हो ।”
नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदिप ऐरी, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउँद, दिलिप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम, धिरेन्द्र चन्द सुदूरपश्चिमकै उत्पादन हुन ।
भने महिलातर्फ हाल यु–१९ का क्याप्टेन डली भट्ट, अञ्जली चन्द, माया रावत, रोशनी बोहरा, कविता जोशी, विन्दु रावल, सोनु खड्का, रेखा रावल, कविता कुुवँर, रितु कनोजियाँ पनि यहाँबाट उत्पादन भएका राष्ट्रिय खेलाडी हुन् ।
तर राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिमलाई अझै स्थायी प्रशिक्षक खटाएको छैन् ।
नेपाल क्रिकेट संघसित आवद्ध भएर विगत १६ बर्षदेखि भीमदत्तनगरमा स्वयम्सेवक प्रशिक्षकका रुपमा खेलाडी उत्पादनमा खटिएका विरेन्द्र शाहीले सुदूरपश्चिमबाट क्रिकेट खेलाडी उत्पादन हुनुमा क्यानको ठुलो भूमिका रहेको बताउनुहुन्छ ।
उहाँले पनि क्रिकेटका लागि सुदूरपश्चिम उर्वरभूमि भएको पनि राज्यले चाँसो नदेखाएको बताउनुभयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रदेश भरी हरेक बर्ष हुँदा ग्रामीण भेगबाट पनि खेलाडीहरु आइरहेको भएपनि राज्यको खेल प्रशिक्षण अझै शहरमुखी रहेको शाहीको भनाई छ ।
त्यसैगरी केही समय बैतडीमा स्वयम्सेवक प्रशिक्षक रहनुभएका पुर्व खेलाडी दिपेन्द्र चन्द वैदेशिक रोजगारीका लागि दुबई गएपछि बैतडी पनि प्रशिक्षक बिहीन छ ।
यता कैलालीमा भने गत बर्षदेखि जिल्ला खेलकुद विकास समितिले ज्ञानेन्द्र क्षेत्री र जानकी भट्टलाई क्रिकेटमा करार प्रशिक्षकमा नियुक्त गरेको छ ।
“जिल्लाले पनि आन्तरिक स्रोतबाट पारिश्रमिक दिने गरी क्रिकेट प्रशिक्षक नियुक्त गरेको हो ।” सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले रासससित भन्नुभयो–“भएका प्रशिक्षकहरु सबै कञ्चनपुर र कैलाली केन्द्रीत भए ।”
उहाँले स्पष्ट नीति नहुँदा पनि पहाडी जिल्लामा प्रशिक्षक खटाउन समस्या रहेको बताउनुभयो ।
“पहाडतिर खटाएका प्रशिक्षक पहुँचकै आधारमा फेरी तराईमै सरुवा आउने प्रवृति नै बनिसक्यो ।” उहाँले भन्नुभयो–“पहाड भलिबल, कराते र बक्सिङ्गका खेलाडी उत्पादन हुने ठाउँ भएपनि ओझेलमा छ ।”
सुदूरपश्चिमबाट विभिन्न खेलबाट उत्कृष्ट प्रर्दशन गरेका सयौं खेलाडीहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुने क्रम बढिरहेको क्षेत्रीय कार्यालय प्रमुख मल्लको भनाई छ ।
“प्रर्दशन राम्रो गर्नासाथ बेरोजगारी समस्याले विभागीय टिममा खेलाडीहरु गइहाल्छन् ।” उहाँले भन्नुभयो–“सुदूरपश्चिम प्रदेशमा स्थायी र करार गरी ४८ जना प्रशिक्षक कार्यरत छन् ।”
पहाडी जिल्लाहरुमा कार्यालय भवन स्थापना गरी खेलकुद गतिविधी सञ्चालनको पहल भएपनि व्यवस्थीत भने नरहेको मल्लको भनाई छ ।
उहाँका अनुसार पहाडी जिल्ला दार्चुलामा कराँते र कवड्डी गरी दुई जना, बझाङ्गमा कराँतेको एक जना, बाजुरामा भलिबलको एक, अछाममा कराँते एक जना (करार) र डोटीमा तेक्वान्दो र कराँतेको एक÷एक जना र बैतडीमा भलिबलको एक जना प्रशिक्षक मात्रै रहेका छन ।
एथ्लेटिक्समा सुदूरपश्चिम भरी एक जना मात्रै प्रशिक्षक कञ्चनपुरमा कार्यरत छन् । भने जुडो, सुटिङ् र पौडी लगायतका धेरै खेलमा अझै यहाँ प्रशिक्षक नरहेको अवस्था छ ।
हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा सुदूरपश्चिमका खेलाडीहरुले १२ स्वर्ण, ३१ रजत र ३० काष्य पदक दिलाएको मल्लले जानकारी दिनुभयो ।
“सागमा सुदूरपश्चिमका खेलाडीले ल्याएको पदक यहाँको इतिहासमै धेरै हो ।” उहाँले भन्नुभयो–“पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्बाट पनि यहाँको खेलमैदान र खेलकुद संरचना निर्माणमा अग्रसरता देखिएको छ ।”
२०६८ सालमा सुदूरपश्चिममा भएको बृहत छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा यहाँ झण्डै साढे ६ करोडको खेल संरचना निर्माण भएको क्षेत्रीय खेलकुद विकास समिति धनगढीको भनाई छ ।
“चालु आर्थिक बर्षमा पनि प्याराफिड, क्रिकेट मैदान र पहाडी जिल्लामा खेल मैदान तथा जग्गा खरिदका लागि रु साढे ५ करोड राखेपबाट बिनियोजन भएर काम थालिएको छ ।” उहाँले भन्नुभयो–“कैलालीमा प्याराफिट र कवर्ड हलको अधुरो काम पुरा गर्न र कञ्चनपुरमा क्रिकेट मैदान निर्माणको काम ठेक्का भएर काम सुरु भइसकेको अवस्था छ ।”

खेलाडी अभिलेख नै छैन्
सुदूरपश्चिमले राष्ट्रिय स्तरमा मात्रै २०३८ सालमा भएको पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै प्रतिनिधीत्व जनाउँदै आइरहेको भएपनि त्यसको अभिलेख पनि सुदूरपीश्चममा भेटिदैन् ।
पौडीमा हाल चर्चामा रहेकी किर्तिमानी खेलाडी गौरिका सिंहदेखि तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक विष्ट हुदै ओलम्पिकमा बक्सिङ्गमा सन् १९८८ मा वाराग्वेका खेलाडीलाई पराजित गर्ने एक मात्रै नेपाली खेलाडी बक्सर विश्णुबहादुर सिंह सुदूरपश्चिमकै हुन् ।
१३औं साग खेलकुद प्रतियोगितामा महिला क्रिकेटमा बिना रन १३ बलमा ६ बिकेट दिएकी अञ्जली चन्द (विश्वकिर्तिमान) देखि पछिल्लो पुस्तामा व्याडमिन्टन खेलमा आफ्नो दबदबा बढाइरहेका प्रिन्स दाहाल पनि सुदूरपश्चिममै जन्मिएका प्रतिभावान खेलाडीमा पर्छन । तर लिखित रुपमा खेलाडीहरुको अभलेख न क्षेत्रीय खेलकुद विकास समितिसित छ न त जिल्लमा रहेका जिल्ला खेलकुद विकास समितिहरुसित नै ।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले पञ्चायत कालमा यहाँ खेलाडीहरुको अभिलेख राखिएको भएपनि पछिल्लो समय भने व्यवस्थापन हुन नसकेको बताउँछन् ।
“छैठौं राष्ट्रिय खेलकुद हुँदा यहाँ अभिलेख राखिएको थियो ।” उहाँले भन्नुभयो–“त्यो कुन अवस्थामा कहाँ छ, खोज्नै पर्छ ।”
लामो समयदेखि खेलाडी अभिलेख राख्न समेत चाँसो नदिएको खेलकुद सम्वद्ध निकायमा राजनीतिक प्रभाव भने बढ्दैछ । क्षेत्रीयदेखि जिल्ला र नगर स्तरसम्म गठन हुने खेलकुद विकास समितिमा राजनीतिक पहँुच र भागबन्डाकै आधारमा नियुक्त दिने प्रचलन यथावत नै छ ।
जिल्ला खेलकदु विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लामा खेलाडीहरुको अभिलेख नरहेको बताउनुभयो ।
“अभिलेख क्षेत्रमा हुनसक्छ ।” उहाँले भन्नुभयो–“प्रशिक्षणमा रहँदाका खेलाडीहरुको मात्रै जिल्लामा अभिलेख राख्ने गरेका छौं ।”
खेलकुदमा कञ्चनपुर र कैलाली ‘क’ वर्ग, डडेल्धुरा, डोटी र अछाम ‘ख’ र बैतडी, बझाङ्ग, बाजुरा र दार्चुला ‘ग’ वर्गमा वर्गीकरण गरिएको क्षेत्रीय कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो ।
प्रशिक्षण हल बिना कुस्तीमा अब्बल
गत चैतमा सम्पन्न बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरका महिला खेलाडीहरु खेलकुद क्षेत्रमा चर्चाका पात्र बने ।
उक्त प्रतियोगितामा यहाँबाट सहभागी ६ जना महिला खेलाडीले स्वर्ण जिते भने बाँकी अन्य खेलाडीहरुले पनि विना पदक फर्किनु परेन ।
कुस्तीमा महिलातर्फ अब्बल देखिएको भीमदत्तनगरमा कुस्तीको प्रशिक्षणका लागि हल छैन् ।
कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले खेलकुद विकास समितिको कार्यालय प्रयोजनका लागि बनाइएको साघुँरो हलमा प्रशिक्षण गराउनु परेको दुखःद रासससित बिसाउनुहुन्छ ।
“८÷१० जना खेलाडी जम्मा भए हलमा पालै पालो प्रशिक्षण गराउनुपर्ने बाध्यता छ ।” विगत एघार बर्षदेखि करार प्रशिक्षकमै रहेका चन्दले भन्नुभयो–“खेल सामाग्री भनेकै एउटा म्याट छ तर म्याटकभर छैन ।”
१३ सागको बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय कुस्ती टोलीले पनि गत जेठमा करिब तीन महिना त्यही साँघुरो हलमा प्रशिक्षण गरेर हेटौडा हान्निएको थियो ।
नेपाली कुस्तीको इतिहासमै पहिलो पटक ५५ किलोतौलम समुहमा स्वर्ण जित्दा महिला खेलाडी संगिता धामीको चर्चा पनि साग ताका निकै चुलियो । कञ्चनपुरको भीमदत्तनगरपालिकी साग स्वार्ण बिजेता खेलाडी धामीसंगै सागमा कञ्चनपुरबाट सहगाी अन्य पाँच जना महिला खेलाडीहरुले पनि रजत र काष्य पदक दिलाएको प्रशिक्षक चन्दले बताउनुभयो ।
सागको १२ औं संस्करणबाट महिला कुस्तीलाई समावेश गरिएको हो । पहिलो पटक १२ औं सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग थिए ।
“प्रशिक्षक हलका लागि जिल्ला खेलकुद मार्फत केन्द्रमा पहल भइरहेको छ ।” प्रशिक्षक चन्दले भन्नुभयो–“खेलाडी छात्राबास बनाएर यहाँ खेलाडीहरुलाई प्रशिक्षणमा राख्न सके सुदूरपश्चिम कुस्तीमा सधै अग्रस्थानमै रहनेमा दुविधा छैन् ।”
प्रदेश निर्वाचन क्षेत्रमा एक खेल मैदान
सुदूरपश्चिम प्रदेश सरकारले पनि चालु आर्थिक बर्षमा यहाँका ३२ वटै प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गर्ने लक्ष्य लिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि रु तीन करोड २० लाख बजेट बिनियोजन गरेको जनाएको छ ।
मन्त्रालयको युवा तथा खेलकुद महाशाखाका प्रमुख पदमराज जोशीले हरेक निर्वाचन क्षेत्रमा खेलमैदान निर्माणका लागि रु दशका दरले बिनियोजन गरिने जानकारी दिनुभयो ।
सुदूरपश्चिमको खेलकुद संरचना निर्माण, खेल गतिविधी सञ्चालनका लागि चालु आवमा रु नौ करोड बजेट बिनियोजन गरिएको महाशाखा प्रमुख जोशले बताउनुभयो ।
“धनगढी र महेन्द्रनगरको कवर्डहल स्तरोन्नतीका लागि रु १ करोड बजटे बिनियोजन भएर काम अघि बढेको छ ।” उहाँले भन्नुभयो–“जिल्ला खेलकुद विकास समितिलाई खेलकुदका लागि रु पाँच लाखका दरले प्रदेशका सबै जिल्लामा पठाइने छ ।”
त्यसैगरी धनगढीस्थित फाप्ला क्रिकेट मैदानका लागि पनि चालु आर्थिक बर्षमा रु १ करोड बजेट प्रदेश सरकारले बिनियोजन गरेको जोशीको भनाई छ ।
“फाप्लाको जग्गाको भोगाधिकार प्रदेश सरकारलाई नहुँदा गत बर्ष रु १२ करोड रकम फ्रिज गयो ।” उहाँले भन्नुभयो–“यस बर्ष भोगाधिकार र जग्गाको स्वामित्व लिएर बजेट कार्यान्वयन गर्ने प्रक्रियामा गएको छ ।”
उहाँले फाप्लालाई बहुउद्देश्यीय रंगशालाका रुपमा विकास गर्न प्रदेश सरकार अग्रसर रहेको समेत बताउनुभयो ।
चालु बर्षमा यहाँ अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुदका लागि रु एक करोड र एथ्लेटिक्स प्रतियोगिता सञ्चालनका लागि रु ४५ लाख बजेट बिनियोजन गरिएको खेलकुद महाशाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here