महेन्द्रनगर, ८ माघ
पासोमा परेको चितुवाको उद्दार गर्न डाटिङ (बन्दुकबाट बेहोस गर्नु)गर्ने बेला पासो चुडेर चितुवा भागेको छ ।कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करले थापेको पासोमा परेको चितुवाको उद्दार गर्न बद्धिर्याबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको तीज जनाको प्राविधिक टोली महेन्द्रनगर पुगेको थियो ।
चितुवाको उद्दारका लागि बन्दुक मार्फत चितुवालाई बेहोस गनुपर्ने भएकाले प्राविधिक शिवराज चौधरी पासो नजिक पुग्दा बन्दुक देखेपछि चितुवा पासो चुडेर जंगलतर्फ भागेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताए ।
भाग्नेक्रममा चितुवाले प्राविधिक चौधरीमाथी आक्रमण गर्दा सामान्य घाइते भएका छन । चौधरीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।
कमजोर पासो भएकाले चितुवा भाग्न सफल भएको हो प्राविधिक टोलीले जनाएको छ ।
बुधबार बिहान ७ बजे सामुदायिक वन नजिकै रहेको महाकाली गौशालामा कार्यरत एक कामदारले चितुवा पासोमा परेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । करिब १० घण्टा पासोमा रहेको चितुवाको उद्दारका लागि साझ ४ बजेमात्रै उद्दार टोली महेन्द्रनगर पुगेको हो ।
महेन्द्रनगरमा वन्यजन्तु उद्दारका लागि स्रोत साधनको अभावले अन्यत्रबाट उद्दारटोली बोलाउनुपर्ने बाध्यता छ ।
बर्दियाबाट उद्दार टोली ब्रह्मदेव पुग्नुअघि चितुवाको पहरामा नेपाली सेनाको शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो ।