आयोजनाको वाधक बन्यो फोहोर प्रशोधन केन्द्र

महेन्द्रनगर,२५ पुस
कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुङ्गो लगाउन नसक्दा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा हुन सकेको छैन ।
एसियाली विकास बैंक(एडिबी)ले फोहोरमैला प्रशोधन केन्द्र निर्माण भए मात्रै सडक लगायतका योजनाको काम अघि बढाउने सर्त राखेको छ जसका कारण महेन्द्रनगरलाई आधुनिक शहर बनाउने योजना अघि बढ्न सकेको छैन ।
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाई धनगढीले फोहोरमैला प्रशोधन केन्द्र निर्माण नभए सम्म अन्य योजना अघि नबढ्ने जनाएको छ । जग्गा प्राप्तीका लागि भीमदत्त नगरपालिका सामुदायीक वनहरु संग छलफलमा जुटेको छ ।
भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले नगरपालिकाले जग्गाका लागि सामुदायीक वनहरु संग छलफल गरिरहेको बताए । उनले सामुदायीक वन सकारात्मक रहेको बताउदै नगरपालिकाले छिट्टै जग्गाको टुङ्गो लाग्ने बताए । ‘नगरपालिकाले दुई÷तिन ठाउँमा जग्गा हेरेको छ तर कुन ठाउँमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।’ सुचना अधिकारी धामीले भने ।
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख परिक्षेद कडरियाले आयोजना कार्यान्वयनको पहिलो सर्त नै फोहोरमैला प्रशोधन केन्द्र निर्माण रहेको बताए ।
‘एडिबिले फोहोरमैला प्रशोधन केन्द्र निर्माण नभए सम्म अन्य कार्यक्रम नदिने भनेको छ ।’प्रमुख कडरियाले भने –‘हामीले मुल्याङकन गरेर मंसिरमै रिपोर्ट काठमाडौ पठाई सकेका छौ ।’ उनले महेन्द्रनगर बजारको १४ किलोमिटर सडकको टेन्डर भएर मुल्याङ्कनमा गएको र जग्गा प्राप्त भएपछि कार्यान्वयन प्रक्रियामा जाने बताए ।
भीमदत्त नगरपालिकाले समयमै जग्गाको टुङ्गो लगाउन नसके एडिबीको ३ अर्बको महत्वपूर्ण योजना फिर्ता हुने खतरा छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले उक्त आयोजनाले आम नागरिक आशावादी रहेको बताउदै नगरपालिकाले ठोस नीतीका साथ आयोजना कार्यान्वयन गनुपर्ने बताए ।
‘महेन्द्रनगर आधुनिक शहर बने यहाँको विकास र आर्थिक क्रान्ती हुन्छ त्यसैले यो महत्वपूर्ण आयोजना समयमै कार्यान्वयनमा ल्याउनुपर्छ ।’ अध्यक्ष मल्लले भने ।
एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा १४ किमि आधुनिक सडक निमार्ण हुने छ । आयोजना अन्तर्गत महेन्द्रनगरका पाँचवटै गल्लीमा व्यवस्थित ढल निकाससँगै मदन चोक देखी मझगाउँ विमान स्थलको छेउ सम्म कालोपत्रे सडक निमार्ण हुनेछ ।
सडक निमार्णका लागि भीमदत्त नगरपालिकाले रु एक अर्ब ७६ करोडमा टेन्डर आह्वान गरिसकेको भएपनि कामले गति लिन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here