पुषे पन्ध्रको विशेषता र सान्दर्भिकता

– रमेश पन्त ‘मीतबन्धु’
“….. तारामण्डलो घर, गजाइ बजाइको पानीथाइँ झानु, सापण सुपणो खानु ..चलिदेन मेरा सँग ….”
ओछ्यानमा पल्टिरहेको अवस्थामा छतका प्वालहरुबाट आकाशका तारा नियाल्न सकिने, चिण्नाहरु (एक किसिमको लौका प्रजातीको गोलो तरकारीको फल सुकाएर बनाएको भाँडो) मा पानी भर्न जाने तथा रुखो तिखो भटमास आदिको पातलो निल्न सजिलो खानाखाने भन्ने आशयको अर्थ दिने कन्या खोज्न हिँडेको गरीबको बातै (कथा) का यि अंशहरु हुन् ।
सुदूरपश्चिम प्रदेश श्रमजिवी विपन्न वर्गका पीडा झल्काउने किसिमका विशिष्ट मौलिक सांस्कृतिक धरोहरहरुले भरिपूर्ण छ । सानो छँदाबाजे, बजैले ‘आगानपानीको दन्दा रोटी’आदि भन्दै ऐनाबातै (गाउँखाने कथा) आइनहाल्ने ज्ञान बर्धक किस्सा कहानी सुनाउने बेलाको कौतुहलता, रोचकता र रोमाञ्चतालाई विर्षन गाह्रै हुन्छ, सुदूरपश्चिमवासीलाई । रमाइला प्रमुख चाँडहरु मध्ये पुषे पन्ध्र वर्षौदेखि हर्षोल्लासका साथ सुदूरपश्चिम भरी मनाइदै आइरहेको छ । हरेक वर्ष पुस १५ गतेका दिन मनाइने भएकाले यस पर्वको नामै पुषे पन्ध्र रहन गएको कुरा जानकारहरु बताउँछन् ।

यस नाम सित चिसो र लामो रात पनि जोडिएको छ । वर्ष भरिकै लामो रात डिसेम्बर २२ लाई मानिए पनि यस भेगका मान्छेहरु पुस पन्ध्रको रातलाई सबैभन्दा चिसो र लामो रात मान्ने एवम् रात साहै्र लामो र दिन एकदमै छोटो हुने मान्यताका आधारमा राती लामो समयसम्म खान नपाई भोकको असह्य पीडा र प्रभावले यो रातमा कागको आँखा फुटेको हुनाले कागलाई कानी कौवा भन्ने गरेको प्रसंग पनि आफैंमा रोचक छ । लामो रातको प्रसँग इस्वी सम्वत र विक्रम सम्बत लामो समय सम्म मिलान नभएको हुनाले पनि तिथी मिति तलमाथि परेको हुनसक्छ । डिसेम्बर २१–२२ बाट उत्तरायण शुरु हुने मानिएता पनि पुस १५ देखि उत्तरायण शुरु भएको मान्यता यस क्षेत्रमा रहेको पाइन्छ । तत्कालिन डोटी राज्यको सीमावर्ती भारतको कुमाऊँ क्षेत्रमा पुस मसान्तबाट उत्तरायण मेला नै लाग्ने गरेको पाइन्छ ।
यस पर्वमा गाउँ, टोल, छिमेकका मान्छेहरु एकै ठाउँमा जम्मा हुने, “आगोताप्नु मुढाको, कुरा सुन्नु बुढाको” भन्ने उखान चरितार्थ गर्दै मुढा बाल्ने,आगो ताप्ने, मीठा–मीठा बातै (कथा कहानी) भन्ने, बातैका बीच–बीचमा रतेड़ा, भग्नेउला गाउने, ऐनाबातै (गाउँखाने कथा) भन्ने र आइन लगाउने आदि रमाइलो गर्दै रात काट्ने चलनरहेको पाइन्छ । आइन लाग्नु भनेको प्रश्नकर्ताले अड्को थाप्नु हो र अड्को फुकाउन नसके एक दुई मौका दिने तथा राठपाठ (प्रश्नको उत्तरसित सान्दर्भिक सम्बन्ध) बताउने एवं उत्तरकर्ताले राठपाठ सोध्न सक्ने प्रचलन रहेको पाइन्छ । कतैकतै पन्ध्रहात लामो नै मुढो बालेर आगो ताप्ने गरेको पनि पाइन्छ भने कतै कतै उखु पेलेर खुद्यौणा (गुड पकाउने ठाउँ वा कोठा) बस्ने र खुद्यौणाका बातै भन्दै रमाइलो गर्दै गुड् खाने र रात काट्ने प्रचलन पनि रहेको पाइन्छ ।
सुदूरपश्चिमेली समाजमा विशेषतः श्रमजिवी विपन्न वर्गका गाउँलेहरुले हिउँदको चिसो कट्याङ्ग्रिने जाडो तथा लामा चिसा रातहरु काट्ने माध्यमका रुपमा मनोरञ्जनका लागि साना–साना किस्सा (लघुकथा) भन्ने र सं–संगै ऐनाबाटै प्रश्नोत्तरी खेल्ने, रतेडा, भगनेउला गाउने, डेउडा खेल्ने,सामाजिक पीडाका कथा–व्यथाहरुलाई सरल, सरस भाषा र मौलिक मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने क्रियाकलाप गर्दै जाँदा पुषे पन्ध्र एक मौलिक सांस्कृतिक धरोहरका रुपमा विकास भएको पाइन्छ ।
श्रमजिवी जनताको आफ्नै विशिष्ट मौलिक संस्कृतिहरु मध्ये एक यस पर्वमा वनवेत, घाँस दाउरा, मेलापात नगर्ने तथा हसियाँ, बन्चरो, बनारो (घाँसपात बाँध्ने एक प्रकारको डोरी)को समेत पूजा आजा गर्ने आफ्नै प्रकारको मौलिक प्रचलन हुन यसको अर्को विशेषता हो ।
खानपानमा आफ्नै घर आँगनमा फल्ने पोषिलो एवं दरिलो खाना ग्रहण गर्न सिकाउने यस पर्वमा सखरखण्ड, तरुल, फर्सि, पिंडालु आदि उसिनेर खाने तथा सेलरोटी, पुवा (मीठो सेल), मालपुवा, माडाÞे तथा झिँजे (चामलको पिठोबाट बन्ने परिकार, रोटी) तथा घरेलु गुड, तिलगुड आदि मिष्ठान गर्ने प्रचलन रहेको पाइन्छ । कतै कतै दिनमा वनभोज गर्ने प्रचलन रहेको पनि पाइन्छ ।
यस पर्वले प्राकृतिक प्रतिकुलतालाई संघर्षका माध्यमबाट सहज रुपमा ग्रहण गर्न सिकाउँछ । यसरी संघर्ष गर्न प्रेरणा दिने एकापसमा सुख दुःख बाँड्ने तथा भाइचारा सम्बन्ध कायम राख्दै सामाजिक एकतामा बल पुर्याउनु डोट्याली तथा सुदूरपश्चिमेली संस्कृतिको मूख्य विशेषता नै हो । पुस महिनाको कठ्याङ्ग्रिने चिसो छल्ने रमाइलो समाजोपयुक्त उपाय दर्शाउने पुषे पन्ध्रको महत्व र सान्दर्भिकता आज पनि उत्तिकै रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here