खप्तड : स्वर्गको एक टुक्रा

सिता बोहरा

यात्रा सस्मरण
मनमा छुट्टै उमंगले छोयो। एमफिलको पढाइ सकेर कम्पेन्डियमका पोका थन्काउन पाएकोमा आनन्द आइरहेको थियो। एमफिलको पहिलो जाँचताका नै सबिना (सँगै एमफिल पढ्ने साथी) ले पढाइ सकिएपछि खप्तड जाऊँ है भन्ने प्रस्तावमा मैले केही नसोची हुन्छ भनिदिएँ र गुगलमा खप्तड खोज्न थालें। त्यसपछिका दिनमा खप्तड जाने हुटहुटीले आठ महिना बिताउन गाह्रो पर्‍यो। खप्तड पुग्ने उत्ताउलोपना बेलाबेलामा साथीहरू र परिवारमा पोखिन्थ्यो।

गुगल गरेर हेरेको खप्तडको मनमोहक फोटो मनमस्तिष्कमा राखेर काठमाडौंबाट नेपालगञ्ज हुँदै गुगलले दिएको जानकारीअनुसार बिहान ६ बजे अत्तरिया कैलालीका लागि गाडी चढ्यौं, त्यही साँझ खप्तड वास बस्न जाने लक्ष्य लिएर। परदेशी, जागिरे घर फर्कंदै थिए। कोही भने घर छाड्दै थिए।

११ बजेतिर अत्तरिया पुगेर खप्तड जाने बस खोज्न थाल्यौं। अहो ! सोचेजस्तो सजिलो रहेनछ खप्तड पुग्न भन्ने लाग्यो। अहो कस्तो अचम्म ! गाडीले नै मदिरा पिएको हो कि जसरी ढोकाबाट टाउको भित्र छिराउनै गाह्रो। ठूला–ठूला झोला बोकेका मानिस, प्रायः सबै भारतको रोजगारबाट आफ्नो थलो फर्कंदै थिए। बसका हुड झोलाले भरिएका थिए। सँगै झोलामाथि मान्छे। विरलै ठूलो सुटकेस देखिन्थ्यो, जुन भारतभन्दा अन्य मुलुकबाट आएका हुन् भन्ने अनुमान लगाउन गाह्रो थिएन। उनीहरूका भीडमा कोचिएरै भए पनि यात्रा गर्ने निधो गरे पनि गाडीमा छिर्न पाइएन। निरास भएर बसेकै बेला हाम्रा लागि देवत्व बोकेर एउटा सानो गाडी आयो र हामीलाई हुइँक्यायो। भासुको भीर कुहिरोले ढाकेको थियो। सहयात्री सबिनाको भासुको भीर हेर्ने इच्छा पूरा भएन। मेरा श्रीमान् भासुको भीरका बारेमा बताउँदै थिए। उनी डडेल्धुरा, डोटी पटकपटक आइसकेका थिए। उसो त मेरा लागि पनि सुदूरपश्चिम नौलो थिएन तर यात्रा र गन्तव्य नौला थिए। सबिना झमझम वर्षा र कुहिरो देखेर दिक्क मान्दै भोलिपल्टको भविष्यवाणी गर्थिन्– भोलि आकाश खुल्नेछ, हामी मज्जाले खप्तड घुम्नेछौं।

चिया पाइँदैन, रक्सी पाइँन्छ

खप्तड नै पुगिन्छ भनेर नेपालगञ्जबाट हिँडेका हामी त्यस दिन डडेल्धुरा बस्यौं। साँझपख चियाका लागि होटेल बाहिर निस्क्यौं। चिया भन्दा चिसो चिया (मदिरा) बुझ्ने साहुजीकहाँ पुगिएछ। मदिरा जताततै थियो, तर चिया पाउन गाह्रो रहेछ। अर्को दिन बिहान सिमसिमे पानीसँगै बझाङको तामेल बजारका लागि गाडी चढ्यौं। बाटो ठाउँठाउँमा पहिरोले भत्केका, बस, ट्र्याक्टरले बनाएको ठूला–ठूला लिक थियो। कयौं क्षण गाडी ढल्केर ६५ डिग्रीको कोणमा पुग्दा आँखा चिम्लेर घरमा छाडेका छोरालाई सम्झन्थें। बाटोबाहेक अन्य दृश्य मनमोहक लाग्थे। सँगै सेतीले तर्साउने गरी सुसाउँदा वर्षायामको त्रिशूली याद आउँथ्यो। धानका सुनौला बाला खोलाछेउको खेतमा झुलिरहेका, कतै धान काट्न थालेका, कतै धान झाट्दै महिला देखिए। कोही परालको टौवा लगाउन लागेका, कोही रूखबाट घाँस झार्दै गर्नेहरू सबै महिला नै थिए। पुरुष कतै नदेखिँदा सबै बिदेसिएका रहेछन् कि भन्ने सोच्दै थिएँ। गाडी गुडिरहेकै थियो। सानो बजार आयो। त्यहाँ ससाना चियापसलजस्ता देखिन्थे। तर चिया होइन, रक्सी पाइने रहेछ। जहाँ पुरुषहरूको भीड थियो, कोही क्यारमबोर्ड खेल्दै थिए, कोही गिलास समाउँदै थिए। कोही गाडी आएको रमिता हेर्दै थिए।

त्यो दिन १० घण्टाको बस यात्रापछि जय पृथ्बीबहादुर नगरपालिकाको तामेल बजारमा बस्यौं। तामेल बजार नामको त्यस ठाउँमा एउटा मात्र घर थियो, जसमा आफूलाई जय पृथ्वीबहादुरका पनाति खलक बताउने सिंह थरीले होटेल सञ्चालन गरेका रहेछन्। ससाना टहरामा ससाना पसल थिए। जुन उनको जग्गामा भाडामा बसेका थिए। उक्त बजारलाई वरिपरि पहाडले घेरेको तल खोंचमा सानो उपत्यका साह्रै अनौठो ठाउँ लाग्यो। त्यसको छेउबाट खोला बगिरहेको थियो। खोलापारि माछा र भावर (गहुँको पिठोबाट बन्ने एक किसिमको तेलमा पकाइने लहरे रोटी जुन सुदूरपश्चिममा प्रख्यात रहेछ) पाउने सानो होटेल रहेछ। माछा साह्रै महँगो थियो। मोलमोलाइ गरेर खायौं।

खुला शौच

भोलिपल्ट वर्षाका कारण बाटो भत्किएको खबर पायौं। अबको यात्रा चुनौतीपूर्ण रहेको भेट्नेजतिले सुनाए। हामीले हिँडेरै भए पनि साहसिक यात्रा जारी राख्ने निर्णय गर्‍यौं। तमैलबाट दारु गाउँसम्म जिप जाने बाटो रहेछ। बाटोमा शंकर नामका ड्राइभरले मात्र जिप चलाउन सक्ने र उनैले मात्र चलाउने गरेको पत्तो पाएपछि उनलाई मनाएर बाटो लाग्यौं। हामी सेती लोकमार्ग छाडेर मल्लो (माथिल्लो) बाटो हुँदै दारु गाउँको बाटो लाग्यौं। छेवैमा सेती सुसाइरहेको थियो। बाटोमा तीनवटा साना खोलाबाटै जिप हुइँकियो। पहिरोले बाटोको नामनिशान नभएको ठाउँमा पनि गाडी उकालेको बेला हामीले आँखा चिम्लियौं। ती ड्राइभर पाका थिए। भारतमा २० वर्ष ठूलो गाडी चलाएर नेपाल फर्केका र तीन वर्षयता यही बाटोमा जिप चलाउँदा रहेछन्। उनको साहस देखेर मान्छे नै होइनन् कि जस्तो पनि लाग्थ्यो। चिप्लो बाटो, ठूला खाल्टा, गरा, बारीका पाटा, खहरे सबैमा उनको जिप कुद्थ्यो।

हामी १२ बजेतिर दारु गाउँनजिक पुग्यौं। त्यहाँ ठूलो खोला थियो। आफ्ना लुगा घुँडामाथि खिचेर पानीको वेगमा पस्यौं। चिसो पानीले मुटु काँप्यो। एकछिन हिँडेपछि दारु गाउँ देखियो। दुईतीनवटा साना होटेल रहेछन्। एउटा घरमा बस्नेसमेत व्यवस्था भएको बोर्ड पनि टाँसिएको थियो। रातो मार्सी चामलको भात साह्रै मीठो गरी खाएपछि उकालो लाग्यौं।

सिमसिमे पानीसँगै लोखडा क्याम्प (सेनाको ब्यारेक जहाँबाट खप्तड राष्ट्रिय निकुञ्ज सुरु हुन्छ) बाट दुई घण्टाको यात्रामा लक्ष्यमा पुग्ने अठोट लिएर उकालो लाग्यौं। बाटोका बस्ती, पानीघट्ट, साना बुट्यान अनि ठूला रूख, चट्टान हेर्दै गयौं। जुत्ताबाट उक्लिँदै गरेको जुका पन्छाउँदै, जुकाको चिसो महसुस गर्दै, कागतीका तितौरा र पानीका घुट्कासँगै तीन घण्टाको यात्रा गर्दा लोखडामा पुग्यौं र एकछिन सुस्तायौं। त्यहाँ पुग्दा हामीलाई ठूलै युद्ध जितेजस्तो लाग्यो। त्यहाँ निकुञ्ज प्रशासनका कर्मचारीले प्रवेश शुल्कको रसिद काट्ने रहेछन् र ब्यारेक कर्मचारीले पर्यटकको लगत राख्ने रहेछन्। हामीले आफ्नो नाम रजिस्टरमा इन्ट्री गराउँदै अबको बाटोको जानकारी लियौं। तीन घण्टा हिँडेपछि घोडादाउन्ने पुगिने जानकारी पाइयो। हामीले हातमा छाता छाडेका थिएनौं। सिमसिम पानी परिरहेकै थियो। बाटोतलको जस्तो पूरै उकालो छैन।कतै तेर्सो पनि छ भन्ने जानकारीले खुसी तुल्यायो। मौसम चिसो थियो। तर हाम्रो हिँडाइको वेगले पसिना चुहियो। सरकारले नेपाललाई खुला दिशामुक्त देश घोषणा गरेको, नेपाल भ्रमण वर्षको एउटा गन्तव्य खप्तड भएकाले हामीले बाटामा शौच खुला गर्नुपर्छ जस्तो लागेकै थिएन। तर बाटोभरि शौच गर्ने खुला नै थियो। बाटोमा मेरा श्रीमान्को पेट बिग्रियो। उनलाई शौच खुला आकाशमुनि गर्नुपर्ने भयो। हामीमध्ये सबै एकएक गरी बाटामा पछि रहन्थ्यौं खुला शौचका लागि। प्रधानमन्त्रीलाई मनमनै जानकारी गराएँ– नेपाल भ्रमण वर्ष २०२० अघि आउने पर्यटकले खुला शौच नै गर्नेछन्। खप्तड क्षेत्रमा खुला दिसामुक्त देशलाई चुनौती पो भो त।

ठाउँठाउँमा ठूला चेप्टा ढुंगा जोडेर चौतारा बनाइएको रहेछ। अलिमाथि पुगेपछि नेपाली सेनाले बनाएको ट्रस (टिनको पाताको छानो भएको चौताराजस्तो) देखियो। साँझ झमक्क पर्‍यो। हामीसँग टर्च थिएन। मधुरो निशामा पाटन देखियो। यात्राको सबै थकान यही मेटिएजस्तो लाग्यो। अझै आधा घण्टा तर्सो र उकालो हिँडेपछि मात्र खप्तड निकुञ्ज प्रशासन, सेनाको ब्यारेक नजिक भएको नेपाल पर्यटन बोर्डको होटेल पुगिन्छ भन्ने जानकारी पायौं। छिटो हिँड्नु पनि थियो।

२२ पाटन र ५२ झोता

भोलिपल्ट बिहान आँखा खोल्दा देखिएको ठूला–ठूला घाँसेमैदान (पाटन) र झुप्पझुप्प परेका रूखका थुम्का (जसलाई झोता भनिने रहेछ) देख्दा मेरा हजुरबाले बयान गर्ने स्वर्गको टुक्राजस्तै लाग्यो। यो खप्तड क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता रहेछन्।

सरकारले २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको रहेछ, जसलाई सेनाले संरक्षण गरेको छ। सेनाको गुल्मपति गोविन्द घिमिरे रहेछन्। उनीसँग भेट्ने मौका पनि पायौं। उनले खप्तड क्षेत्रका बारेमा जानेजति सुनाए र मुख्य ठाउँमा घुम्न सुझाए। अब मंसिरको अन्तिम साताबाट पर्ने हिउँको अनुभव सुनाउँदै गत वर्षको ६–७ फिट हिउँमा ब्यारेकभित्रको व्यवस्थापनको कठिनताका केही अंश सुनाए। त्यसैले होला, यस वर्ष उत्कृष्ट गुल्म व्यवस्थापनमा राष्ट्रपतिबाट पदक पनि हात पारेका रहेछन्। उनको व्यवस्थापनको तारिफ गर्दै हामी त्यहाँका प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडका नागढुंगा, खप्तड दह, खप्तड बाबा आ श्रम, त्रिवेणीघाटजस्ता पवित्र मानिने स्थल दुई दिन लगाएर घुम्यौं। यसै क्रममा हामीले बँदेल, थार, लंगुर, स्याल र थुप्रै प्रजातिका चरा देख्यौं। सहस्र लिंग भने जान सकेनौं। हाम्रो खुट्टा र ज्यानले साथ दिएन। मलाई लेक लाग्यो, नाकबाट रगत बग्यो तर हिम्मत हारिएन।

दलितका लागि छुट्टै मन्दिर

त्रिवेणीधाम जहाँ जेठ महिनामा गंगादशहरा मेला लाग्ने र त्यो बेला त्रिवेणीघाटमा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास रहेछ। उक्त मेलाका समयमा सेनाका प्रमुख सेनापति र महारथिको उपस्थिति हुने रहेछ। त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास रहेछ। एउटा अचम्मको कुरा त्यहाँका सैनिक पुजारीले सुनाए– उक्त मेलामा आउने जोकोही महिला र पुरुषबीच समागम भयो भने त्रिवेणीघाटमा नुहाउँदा पुनः चोखिने जनविश्वास रहेछ। त्यस्तो सम्पर्कका बारेमा महिला वा पुरुषका पति–पत्नी, आफन्तले थाह पाए पनि ठूलो रूपमा नलिने गरेको सुनाए। सँगै मेलाका अन्य विविध पक्षका बारेमा सुन्दै गर्दा हाम्रो ध्यान मूल मन्दिरको उत्तरतिर रहेको ढुंगाले बनेको पुरानो देखिने मन्दिरमा गयो। त्यो दलितको मन्दिर रहेछ। अरू मन्दिरमा सधैँ पूजा भए पनि उक्त मन्दिरमा भने मेलाका बेला दलितहरूले पूजा गर्ने गरेको पत्तो पाइयो।

अरूबेला पनि कहिलेकाहीं दलितहरू आएर पूजा गर्ने गर्दा रहेछन्। यहाँ अन्य मन्दिर रङरोगन लगाइएको, धजापताकाले सजाइएको थियो। दलितको मन्दिर भने खण्डहर र रुग्ण थियो। अहिलेको आधुनिक युगमा दलितको छुट्टै मन्दिरको अस्तित्वले एकछिन मथिंगल हल्लियो।

खप्तडको अर्काे आकर्षण भनेको खप्तड बाबाको आ श्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन्। उनले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरू लेखेका थिए। उनले अन्वेषण गरेर बनाएका कयौं औषधि अझै सुरक्षित रहेछन्। साथै राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड पनि रहेछन्। सोही आ श्रमछेउमा सिसाखानी रहेछ। आ श्रमवरिपरि पुच्छर नभएका अनौठा मुसा देखिए। त्यस्तै केदार ढुंगा, खापर दह, नाट्यश्वरी, निकुञ्ज प्रशासनको संग्रहालय आदिको अवलोकन गर्‍यौं।

दहभरि पैसै पैसा

खप्तड दह वा खापर दह यहाँको अर्को मनमोहक स्थल रहेछ। बाटोभरि नेपाली कागज बनाउने बुट्यान, नीला, सेता, पहेंला, बैजनी, गुलाबी फूलहरू सुक्दै गरेका देखिए। हामी बसेको स्थानबाट करिब एक घण्टा हिँडेर खापर दह पुग्यौं। शान्त नीलो दह टाढैबाट देखियो। हामीलाई दहको पानी नै छुने मन भयो। नजिक पुग्दा दहको छेउभरि पैसा नै पैसा देखिए। अचम्म लाग्यो। सिक्का पनि प्रशस्त थिए। तर पानीमुनि राता र खैरा नोटहरू पनि देखिए, जुन ५, १० र २० का थिए। केही नीला र हरिया नोटहरू पनि बीचबीचमा थिए। यहाँ मेला भर्न र अन्य समयमा पूजा गर्न आउने भक्तजनले चढाएका रहेछन्। हामीले फर्केर आउँदा त्यहाँ एउटा दानपेटिका राखे राम्रो हुने र पैसाको सदुपयोग गर्न सकिने थियो भनेर सेनाका गुल्मपतिसँग गुनासो पोख्यौं।

ओरालो झर्दा

प्रकृतिको गलैँचाजस्तो फाँट छाडेर फर्कनुपर्ने थियो। आउँदा बझाङको बाटो र फर्कंदा डोटीको बाटो हिँड्ने निर्णय गरेर ओरालो झर्ने मेलो मिलायौं। बाटोमा फोन लाग्दैनथ्यो। दुई घण्टा ओरालो झरेपछि फोनडाँडा आयो। सेनाले बनाएको ट्रसमुनि बसेर सबैले घरमा फोन गर्‍यौं। यहाँ फोनको टावर आउने भएकाले फोनडाँडा नाम राखिएको रहेछ। त्यसपछि बीचपानी भन्ने ठाउँ आयो। त्यहाँ खप्तड विकास पर्यटन समितिले बस्ने व्यवस्थासमेत भएको गेस्टहाउस बनाएको रहेछ। तर व्यवस्थित रूपमा सञ्चालनमा देखिएन। यात्रुहरू आएर ओत लाग्ने ठाउँचाहिँ रहेछ। बाटोभरि निगालोका बोटहरू थिए। सँगसँगै अरू यात्रु पनि भेटिन्थे। यहाँ विषका बोटहरू प्रशस्त रहेछन्। तीन घण्टाको लगातार ओरालो र केही तेर्साे बाटोपछि झिग्राना चेकपोस्ट् आयो। त्यहाँ सुस्ताएर केही खाना खाएपछि। सिलगढीका लागि हिँड्यौं। बिग्रिएको मोटरबाटोमा लठी टेक्दै हिँड्यौं। बिहान ६ बजेदेखिको यात्रा अब त साँझको आठ बजिसकेको थियो। बिजुली बत्तीले धपक्क बलेको डाँडा देखियो। त्यो डोटी, सिलगढी र अन्य गाउँ रहेछन्।

बाटो ठाउँठाउँमा पहिरोले लगेको रहेछ। हामीले हातेसाङ्लो बनाउँदै अप्ठ्यारा पार गर्‍यौं। बिच्छी र सर्पबाट तर्कंदै मोबाइलको मधुरो प्रकाशमा छुट्टीमा हिँडेका र सिलगढीबाट सामान बोक्न निस्किएका सिपाहीका सहारा माग्दै हामी पनि सिलगढी पुग्यौं। त्यहाँबाट एउटा जिप समाएर दिपायल गएर बस्यौं। खप्तडको चिसो मथिंगलमै रहेको बेला दिपायलको तातो हावाले शरीर छोयो। तर हाम्रो मन मस्तिष्क खप्तडमै बसेको छ आजसम्म पनि।

बाटोभरि सुदूरपश्चिमको ‘चल गोविन्दे पाइला मिला घुगुरु बजा छम कि छमाछम्’ भन्ने गीत बज्यो भने ती पाटन, थुम्का, धार्मिकस्थल, दह, काठका पुलहरूसहित शालीन गुल्मपति गाविन्द घिमिरे, बाटोमा भेटिएका सिपाहीहरू, बझाङका स्थानीय महिला, त्यहाँका भावर, मार्सी भातको सम्झना दिलाइरहन्छ।

बिछट्टैको खप्तड

एकछिनमै घाम लाग्ने र एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा बादलले रूखहरूलाई ढाक्दा बिछट्टै राम्रो देखिन्छ। निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म मानिसहरू भ्रमणका लागि जाने भए पनि बर्खामा लाग्ने गंगा दशहरा मेलामा यहाँ विशेष भीड हुने गर्दो रहेछ। रंगीबिरंगी गुराँस फुल्ने मौसम र भुइँफूलले पाटन ढाकेको बेलाको वर्णन गर्थे त्यहाँ भेटिने सिपाही र स्थानीय। यहाँको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ। घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरिसक्नु छैन। अब त हिउँ पनि पर्न थाल्यो होला। हिउँसँगै खेल्न रमाउनेका लागि मंसिर, फागुन, चैत एकदमै उत्तम मौसम रहेछ।प्याकेज बनाएर खप्तडमा पर्यटक लैजाँदा रहेछन्। तर खप्तडमा उचित वासको व्यवस्था र बाटोमा हुने सास्तीका कारण पर्यटकको चाप भने छैन। खप्तडमा नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको होटेलमा ३० जनासम्मका लागि खाना र आवासको व्यवस्था रहेछ।

कसरी पुग्न सकिन्छ ?

सुदूरपश्चिमका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड क्षेत्र पछिल्ला वर्षहरूमा पदयात्रीले सुदूरपश्चिमको खप्तडबाट मध्यपश्चिमको रारा तालसम्म पदयात्रा पनि सुरु गरेका छन्। तर खप्तडसम्म पुग्ने यात्री एकदमै न्यून संख्यामा छ। प्रकृतिको अनुपम देन यो क्षेत्र एकपटक हेर्नैपर्ने लाग्यो। हिँड्न सक्ने उमेर सकियो भने पछुतो हुनेछ। खप्तडमा बझाङको तमैल र डोटीको झिंग्राना दुवै ठाउँबाट जान सकिन्छ। बझाङको बाटो भएर जान अत्तरिया वा धनगढीबाट गाडीमा तमैलसम्म गुड्नुपर्छ। तमैलबाट लामा तोला (तल्लो बाटो) सम्म लोकल जिप पाइन्छ। जिपमा एक घण्टाजति गुड्नुपर्छ। पूर्वाधार नबनेको खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि लामा तोलाबाट नौ घण्टा र दारु गाउँबाट सात घण्टा लाग्छ।

दुई दिन लाग्छ अर्को बाटो डोटीको झिग्राना क्याम्पबाट ठाडो उकालो करिब १६ किमि (८ घण्टा) हिँडेपछि ३१५० मिटरको उचाइमा रहेको खप्तड पुगिन्छ। बाटोमा सेना र निकुञ्ज प्रशासनले आआफ्नै तरिकाले माइल स्टोन राखेका छन्, जुन एकअर्कामा मिल्दो छैन। त्यसैले खप्तड पुग्न कति किलोमिटर छ भन्ने यकिन छैन। प्राकृतिक, धार्मिक र सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि थोरै भौतिक पूर्वाधार र प्रचार–प्रसारको कमीले खप्तडले यथेष्ट महत्त्व पाएको देखिँदैन। तर प्राकृतिक रूपमै रहेको कुनै विकासे पूर्वाधार र अवधारणाले नछोएको कुनै ठाउँ हो भने त्यो खप्तड नै हो रहेछ। प्रकृति हेर्न खप्तड नै पुग्नुपर्छ।

(साभार अन्नप्रर्ण पोष्ट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here