साग कुस्तीः आश लाग्दा खेलाडी सुरेश

महेन्द्रनगर, ७ मंसिर
तीन बर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगामी मंसिर तेस्रो साता हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक ल्याउने आश लाग्दा पुरुष खेलाडीको सुचीमा छन ।
२०७३ सालमा कुस्ती खेलमा आएको १५ दिनको छोटो प्रशिक्षणमै साता राष्ट्रिय खेल्ने अवसर पाएका सुरेशले सुरुवात नै पदक ल्याउन सफल भएका थिए ।
“छोटो प्रशिक्षण र पहिलो राष्ट्रिय स्तरको प्रतियोगितामै काष्य पदक ल्याउँदा कुस्तीप्रतिको मोह झन् बढेर गयो ।” विगत सम्झिदै सुरेशले रासससित भन्नुभयो–“१३ औं सागमा स्वर्ण पदकको लागि हामीसामु भारत नै मुख्य चुनौती छ ।”
विगत चार महिनादेखि हेटौडामा जारी सागको बन्दप्रशिक्षणमा रहेका सुरेशले यो तीन बर्षको अवधीमा राष्ट्रिय स्तरमा आफ्नो तौल समुहमा तीन वटा स्वर्ण पदक जितिसकेका खेलाडी हुन ।
सन् २०१८ मा भएको १८ औं एशियन खेलकुद प्रतियोगितामा समेत नेपालको प्रतिनिधीत्व गरिसकेका उनले गृह मुलुकमा हुन लागेको सागमा पदक ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो ।
गत बर्ष भएको आठौं बृहत राष्ट्रिय प्रतियोगिता हुनुअघि त्रिभुवन आर्मी क्लबसित आवद्ध भएका सुरेशले आठौंमा स्वर्ण जितेपछि पनि निरन्तर सागको प्रशिक्षणमा जुटिरहेको बताउनुभयो ।
“पारिवारिक अवस्था नाजुक नै भएपनि घरबाट आमाले खेलमा लाग्न प्रेरणा दिनुभएकै छ ।” उहाँले भन्नुभयो–“खेलस्तर माथि उकास्न राज्यले खेलकुद र खेलाडीमा भरपुर लगाँनीको खाँचो छ ।”
१३ औं सागमा ७० किलो तौलम समुहमा भिडन्तको तयारीमा रहेको सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन ।
“१८ औं एशियनको अनुभव यो सागका लागि उपयोगी भएको छ ।” उहाँले भन्नुभयो–“कुस्ती खेलाडीहरुको मेहनत आगामी सागमा पदक बिहीन भएर खेर जाने कुरै आउँदैन ।”
उहाँले नेपाली कुस्ती खेलाडीहरुका लागि भारतीय खेलाडी नै मुख्य प्रतिस्प्रर्धी रहेको बताउनुभयो ।
“भारतसित जित्ने खेलाडीले स्वर्ण नै भित्र्याउने धेरै सम्भावना छ ।” उहाँले भन्नुभयो–“भारतीय खेलाडीलाई निराश पार्ने रणनिती बुनिसकेको छु ।”
लामो समयदेखि राज्यको लगानी र कुस्तीलाई दिइएको प्राथमिकता र लामो अनुभवका कारण सागमा भारतीय खेलाडीहरुको बर्चश्व हुने गरेको चुनाराको भनाई छ ।
“हामीलाई वैदेशिक प्रशिक्षणमा लैजाने भनेको हल्लामै समिति रह्यो ।” उहाँले भन्नुभयो–“तर पनि स्वदेशको प्रशिक्षणले खेलाडीहरु निखारिएका छन ।”
साग कुस्तीमा महिला र पुरुष खेलाडी गरी कञ्चनपुरको बर्चश्व छ । सागको बन्द प्रशिक्षणमा जुटिरहनु भएका यहाँका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले इतिहासमै पहिलो पटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाएको बताउनुभयो ।
“यो सब खेलाडीहरुको मेहनतको फल हो ।” प्रशिक्षक चन्दले भन्नुभयो–“महिलातर्फ ७ तौल समुह मध्ये ६ जना कञ्चनपुरकै छन ।”
प्रशिक्षक चन्दले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
“धेरै जसो खेलाडीहरुले विगत हेर्दा धेरै समयमा कुस्तीमा फड्को नै मारेर यहाँसम्म आइपुगेका छन ।” चन्दले भन्नुभयो–“सागमा कुस्ती पदक बिहीन बन्ने अवस्था आउँदैन ।”
कुस्तीमा नेपालले चौथो सागदेखि लगातार पदक ल्याइरहेको बताउँदै प्रशिक्षक चन्दले १२ सागदेखि महिला सहभागी हुदै आएको जानकारी दिनुभयो ।
साग छनौटमा पर्ने महिला खेलाडीहरुमा ५० केजी तौल समुहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा संगिता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री, ६२मा शुशिला चन्द र ६८ किलोतौल समुहमा निर्मला जागरी प्रतिश्प्रर्धा गर्दैछन ।
“महिलातर्फ सागका लागि सबै खेलाडी नयाँ हुन ।” चन्दले भन्नुभयो–“महिलातर्फ रजत काष्य सम्मको आश गरेका छौं ।”
उहाँले पनि भारत नै नेपालका लागि मुख्य चुनौती रहेको बताउनुभयो ।
साग भिडन्तको तयारीमा रहेकी कञ्चनपुरकी शिवाङ्गी दुबे पनि कुस्तीमा छलाङ्ग मारेकी कान्छी खेलाडी हुन ।
दुई बर्षअघि मात्रै कुस्ती खेलमा आएकी दुबे पदक दिलाउने गरी मेहनत गरेको बताउँछिन । “लामो समयदेखि निखारिएका भारतीय खेलाडी नी हाम्रा मुख्य प्रतिस्प्रर्धी हुन ।” उहाँले भन्नुभयो–“प्रतियोगिताका बेला मात्रै पदकको आशा बढी गर्ने परम्परा तोड्नु पर्छ ।”
आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी दुबेले स्वर्ण जितेपछि चर्चित बनेकी थिईन ।
“खेलाडीहरुलाई बाह्य टिमसित मैत्रीपुर्ण प्रतिस्प्रर्धा गराइएको भए हाम्रा खेलाडीहरुको स्तर थाहा हुन्थ्यो ।” चन्दले भन्नुभयो–“त्यो हुन नसकेपनि खेलाडीहरुको प्रशिक्षण दमदार नै छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here