महेन्द्रनगर,१६ कार्तिक – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ चौधरी टोलका भलमन्सा भरत चौधरी स्थानीय सरकार आएपछि गाउँको भएको विकास देखेर आश्र्चयचकित हुनुहुन्छ ।
जनप्रतिनिधी आइसकेपछि गाउँको सडक, नदी तटवन्ध, पुल लगायतका संरचना निर्माणले सिंहदरबारको अधिकार गाउँमा आएको चौधरीलाई अनुभूति छ । “गाउँ सडक सञ्जालसित नजोडिँदा दुई बर्षअघिसम्म गाउँमा बिवाहका लागि जेठ कुर्नुपथ्र्याेंं ।” चौधरीले भन्नुभयो–“अहिले त गाउँमै ठुला सवारीसाधन पुग्न थालिसके ।”
झण्डै ५० घरधुरी रहेको शुक्लाफाँटा नगरपालिका–२ को रानीपुर गाउँमा तीन दशकसम्म सडक बिहीन रहेको थियो ।
“पहिले गाउँमा मुश्किलले मोटरसाइकलसम्म आउथ्यो ।” उहाँले भन्नुभयो–“जेठ महिनामा खेतहरु खाली हुँदा मात्रै बिवाहका बस तथा सवारीसाधन आउन सक्थे ।”गाउँमा दुई बर्षअघि वडा कार्यालयको अग्रसरमा डेढ किलोमिटर सडक निर्माण गरिएको शुक्लाफाँटा नगरपालिका–२ वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो ।
“छेउमै रहेको सुनबरा नदीमा पुल नहुँदा सुत्केरीलाई समेत बोकेर पारी जोनापुरबाट गाडीमा लैजानुपर्ने अवस्था थियो ।” वडाध्यक्ष पनेरुले भन्नुभयो–“विगतको समस्या सुनाउँदा अहिले कथा सुनाएजस्तै लाग्छ ।”
उहाँले नगरपालिका र वडा कार्यालयको बजेटमा ८ मिटर चौडा पानी पिच बाटो निर्माण हुँदा स्थानीयलाई सहज भएको बताउनुभयो ।उक्त वडामा गत आर्थिक बर्षमा नगर, संघीय र प्रदेश गरी तीन वटा तहबाट रु २ करोड भन्दा बढीको लगानीमा विकास निर्माणका काम सम्पन्न भएको अध्यक्ष पनेरुको भनाई छ ।
“लामो समयदेखि अवरुद्ध रहेको लक्ष्मीपुर र ढकनिँया जोड्ने मितेरी पुल पनि निर्माणको अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो–“द्धन्दकालमा भत्किएको पुल बनेपछि यहाँका धेरै स्थानीयबासीलाई हिडडुलमा सहजता थपिनेछ ।”
त्यसैगरी दुई बर्षअघि रानीपुर र जोनपुर जोड्ने सुनबरा नदीमा झोलुङ्गे पुल बन्दा गाउँमा खुसीयाली नै छाएको पनेरुको भनाई छ ।
“पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो ।” उहाँले भन्नुभयो–“अहिलेसम्म वडामा रु ८० लाखसम्मको तटवन्ध निर्माण भइसकेको छ ।” त्यसैगरी लामोसमयदेखि जिर्ण अवस्थामा रहेको यहाँको झारखण्ड बैजनाथ ताल संरक्षणमा पनि पहल गरिएको उहाँले बताउनुभयो ।
“शहरी विकास मन्त्रालय र नगरपालिकाको सहयोगमा ताल संरक्षण गरिएको हो ।” उहाँले भन्नुभयो–“ताल नगरपालिकाको स्वामित्वमा लिएर माछापालनका लागि टेण्डर प्रक्रियामा जाने योजना अघि बढेको छ ।”
पुर्वाधार निर्माणले गाउँ बदल्दै
