२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।
सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बतायो । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।
सी काठमाडौं उत्रिनुअघिदेखि नै नेपाली सेनाले हवाई गस्ती गर्दै आएको छ । सी विमानस्थलबाट होटल सोल्टी प्रस्थान गर्दा पनि सेनाले ‘एरियल रेकी’ अर्थात् हवाई स्कर्टिङ गर्ने छ । सवारी सुरु हुनु अघिदेखि नै सडकमा अन्य गाडी र पैदलयात्रीको आवत–जावत बन्द गरिने छ ।
महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले विशिष्ट पाहुनाको भ्रमणलाई लक्षित गरी सुरक्षा प्रवन्धमा कुनै कसर बाँकी नराखिएको बताए ।सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित हुने गृह मन्त्रालय स्रोतले बतायो ।
सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिने छ । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
(साभार अनलाईनखबर)