विश्व मिलिटरी खेलकुदमा आर्मी

काठमाडौं : चीनको उहानमा कात्तिक १ देखि १० सम्म आयोजना हुने सातौं विश्व मिलिटरी खेलकुद प्रतियोगिता (सीआईएसएम)मा नेपालको आर्मीले पनि भाग लिने भएको छ। नेपालले पहिलो पटक यस प्रतियोगितामा भाग लिन लागेको हो।

इन्टरनेसनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपालले १३ खेलमा सहभागिता जनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रूपमा रहेको यस प्रतियोगितामा विश्वका एक सय पाँच मुलुकका १० हजार सात सय १९ खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश छ।

नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एन्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेलमा प्रतिस्पर्धा गर्नेछ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने आर्मीका खेलाडीलाई उक्त प्रतियोगिताका लागि छनोट गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here