महेन्द्रनगर,५असोज
नागरीकहरुको आवागमन हुने कञ्चनपुरका सिमा क्षेत्रमा शसस्त्र प्रहरी र भारतीय एसएसबीको सयुक्त सहायता कक्ष विस्तार गर्ने दुबै देशका सुरक्षा निकायबिच सहमती भएको छ ।
शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबिचको सिमा सुरक्षा समन्वय बैठकमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले चाडपर्वका बेला घर फर्किने नेपालीहरुको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीले जनाएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरसिंह साहुले चार्डपर्व लक्षित नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि छलफल र समन्वय भएको बताए ।
‘विगतमा चाडपर्वका बेला सिमाक्षेत्रमा नेपालीहरु लुटिने र ठगिने घटनाहरुलाई मध्यनजर गर्दै हामीले सिमावर्ती भारतीय सुरक्षा निकायसित पहल सुरु गरेका छौं ।’
कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनी,गड्डाचौकी र बेलौरीमा संयुक्त हेल्प डेष्कलाई विस्तार गरि प्रभावकारी बनाउने सहमती भएको छ । उनले चाडपर्वलाई लक्षित गरी सिमा क्षेत्रमा थप सर्तकता अपनाईने बताए ।
त्यस्तै बैठकमा सिमा क्षेत्रमा हुने लागू औषध र मानव बेचबिखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायले गस्ती र सर्तकता बढाउने सहमती भएको शसस्त्र प्रहरी उपरीक्षक साहुले बताए ।